
१७ भदौ २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ
अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाडौँ सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र अधिकार सुनिश्चितका लागि र विशेष गरी पूर्ण तथा अति असक्त अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने एक सामाजिक संस्था हो । यस संस्थाले अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने क्रममा उनीहरूको राजनीतिक सुनिश्चितताका लागि पनि काम गर्दै आएको छ । यसै क्रममा यस संस्थाले यही भदौ १५ र १६ गते दुई दिन काठमाडौँमा CFLI/ FCIL को साझेदारीमा क्षमता विकास तथा पैरवीको माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूको नागरिक एवं राजनीतिक अधिकार प्रवर्धन कार्यक्रम अन्तर्गत दल सम्बद्ध अपाङ्गता भातृसंगठनका लागि दुई दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न राजनीतिक दलहरूसँग आवद् भएका अपाङ्गता सम्बन्धी भातृसंगठनका करिब ५० जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई उक्त प्रशिक्षण प्रदान गरिएको हो । यस दुई दिने प्रशिक्षण कार्यक्रमका क्रममा अपाङ्गता अधिकारकर्मी तथा प्रशिक्षक मनिष प्रसाईँले प्रशिक्षण दिनु भएको थियो । यस प्रशिक्षणका क्रममा उहाँले क्षमता विकास तथा पैरवीको माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूको नागरिक, राजनैतिक अधिकार प्रवर्धनको बुझाई, राज्यका निर्माण, निर्णय गर्ने तहका विषयमा जानकारी गराउनु भयो । यसै गरी उहाँले नागरिक तथा राजनीतिक अधिकार, जनवकालत तथा पैरवी, अधिवाचन लगायतका विषयमा पनि प्रस्ट पार्नु भएको थियो ।
साथै प्रशिक्षक मनिष प्रसाईँले सो कार्यक्रममा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञा पत्रको विषयमा पनि जानकारी गराउनु भयो । यस दुई दिने प्रशिक्षण कार्यक्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरूका लागि नागरिक अधिकार, राजनीतिक अधिकार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि तथा राजनीतिक अधिकार, नेपालको संविधान र अपाङ्गता भएका व्यक्तिहरूको नागरिक तथा राजनीतिक अधिकारका विषयमा प्रशिक्षण दिँदै यी ऐन तथा कानुनहरूमा गरिएका व्यवस्थाहरूको बारेमा पनि जानकारी गराउनु भयो ।
यस कार्यक्रममा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले अपाङ्गता भएका व्यक्तिहरूका लागि राजनीतिक अधिकार सुनिश्चित हुनु पर्ने र यसका लागि विभिन्न राजनीतिक दलहरू तथा भातृसंगठनहरुले उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्नु पर्ने बताउनु भयो । त्यसै गरी उहाँले राज्यका हरेक निकायहरूमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित हुनु पर्ने विषयमा आफ्नो तर्फबाट आवाज उठाई रहेको र केही व्यवस्थाहरू पनि भएको बताउँदै अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट नीतिगत व्यवस्थाका सवालहरूलाई उठाउँदै आएको पनि जानकारी गराउनु भयो ।
त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पाटीको तर्फबाट बाग्मती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि सबै राजनीतिक दलहरुदलाई एक सचेत गराउनु पर्ने, अपाङ्गता भएका व्यक्तिहरू पनि यस विषयमा जागरूक हुनु पर्ने र आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनु भयो ।
यस कार्यक्रममा विभिन्न समूह मार्फत अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकारको सुनिश्चितताका लागि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि, नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ का कुन कुन धाराका कुन बुँदाहरूले राजनीतिक अधिकार तथा अन्य सहभागिता व्यवस्था गरेको छ र अबका दिनमा अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गर्न तथा अर्थ पूर्ण सहभागीताका लागि के गर्नु पर्दछ भनेर समूहगत रूपमा छलफल गरियो । साथै आफू आबद्ध राजनीतिक दलहरूमा अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकारका लागि के कस्तो माग गर्न सकिन्छ भनेर कार्य योजना तथा माग पत्र पनि तयार गर्न सिकाइयो ।
दुई दिने यस प्रशिक्षण कार्यक्रममा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्ति केन्द्र काठमाडौँका अध्यक्ष टेक बहादुर गुरुङले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि सबै राजनीतिक दलहरू संवेदनशील हुनु पर्ने, अपाङ्गताका विषयमा सबै भातृसंगठनहरु मार्फत बुझाउनु पर्ने, सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू एक जुट हुनु पर्ने, आफू आबद्ध राजनीतिक दलहरूलाई बुझाउने प्रयास गर्नु पर्ने भन्दै यस दुई दिने प्रशिक्षण कार्यक्रममा सिकेको सीपलाई आफू आवद् राजनीतिक दलहरूमा उपयोग गर्नु हुनका लागि पनि आग्रह गर्नु भयो ।


