२७ असोज २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ
अपाङ्गता भएका व्यक्तिहरूले केही पनि गर्न सक्दैनन्, उनीहरू कमजोर हुन्छन्, काम गर्न सक्दैनन् भन्ने हाम्रो समाजको नकारात्मक सोचलाई शारीरिक अपाङ्गता भएकी महिला गङ्गा छन्त्यालले गार्मेन्ट सञ्चालन गरेर अपाङ्गता नभएका व्यक्तिहरूलाई रोजगार दिन सफल हुनु भएको छ । काठमाडौँको तार्केश्वर नगरपालिकामा १० मा यूनिक सेवा गार्मेन्ट सञ्चालन गरी १२ जना अपाङ्गता नभएका व्यक्तिहरूलाई रोजगार दिनु भएकी गङ्गाले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि रोजगारीमा आवद्ध गराएर उनीहरूको जीवन यापन सहज बनाउनु पर्दछ भन्ने उद्देश्यले आफूले सञ्चालन गरेको यूनिक सेवा गार्मेन्ट मार्फत फाउण्ड परियोनाको सहकार्यमा ८ जना बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई सिलाई तथा गार्मेन्टको ३ महिने तालिम प्रदान गर्नु भएको हो ।
गत असार २४ गते देखि हिजो असोज २७ गते ३ महिना सम्म तार्केश्वर नगरपालिकामा १० मा २ जना पुरुष र ६ जना महिला गरी ८ जना बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई सो तालिम प्रदान गरिएको हो ।
यस ३ महिने सीप मूलक तालिमको समापनका क्रममा आज प्रमाणपत्र वितरण गर्दै यस यूनिक सेवा गार्मेन्टको सञ्चालक गङ्गा छन्त्यालले बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई सञ्चारको अभावमा रोजगार पाउन कठिन भएको उनीहरूले बताएको र आफूले पनि देखेको भएर यस गार्मेन्टमा नै उनीहरूलाई रोजगारी दिने उद्देश्यले यो तालिम प्रदान गरिएको बताउनु भयो ।
त्यसै गरी प्रशिक्षक सेते तामाङले बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई तालिम दिँदा सुरुमा सञ्चारमा कठिनाइ भएता पनि बिस्तारै सिकाएको र उनीहरूले पनि राम्रोसँग सिकेको बताउनु भयो ।
यस तालिमको समापनका क्रममा बङ्गलादेशबाट आउनु भएका अर्का प्रशिक्षक बाबु सेकले नेपालका यी ८ जना बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई ३ महिना सम्म यो तालिममा सिकाइएको सीपलाई राम्रोसँग सिकेको भन्दै खुसी व्यक्त गर्नु भयो ।
सो तालिममा तयारी पोसाक उत्पादन, ज्याकेट, झोला, टिसर्ट लगायतका फेन्सी कपडाहरू बनाउन सिकाइएको थियो । ३ महिने तालिम पश्चात् प्रमाणपत्र लिँदै बहिरा अपाङ्गता भएका प्रशिक्षार्थीहरूले यो अवसर दिनु भएकोमा यूनिक सेवा गार्मेन्ट सञ्चालक तथा सम्पूर्ण परिवारलाई धन्यवाद दिँदै यस तालिममा सिकेको सीपलाई राम्रोसँग उपयोग गर्ने बताए ।