नेपालको महिला टेनिस टोलीले बिली जिन किङ कपमा बुधबार विजयी सुरुआत गरेको छ । टिम इभेन्टमा नेपालले ताजाकिस्तानलाई ३–० ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले बहराइनबाट जानकारी गराए ।
नेपाली खेलाडीले सहज जित हात पार्ने क्रममा दुई सिंगल्स र एक डबल्मा सोझो सेटमा नतिजा आफ्नो पक्षमा पारे ।
पहिलो सिंगल्समा नेपालकी माहिका राणाले मालिका रहिमोभालाई ६–० र ६–० को सोझो सेटमा पराजित गरिन् । दोश्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले योसुमन सलीमोभालाई ६–० र ६–० कै सोझो सेटमा हराइन् । डबल्समा नेपालका सुनिरा थापा र रायना शाहको जोडीले फजिला मोरुदोभा र मालिकाको जोडीलाई सीधा सेटमा ६–० र ६–० ले नै पाखा लगाए ।
यो स्पर्धामा सहभागी विभिन्न १४ राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘सी’ मा नेपाल÷ताजाकिस्तानसंगै बहराइन र कतार छन् । हरेक समूहको शीर्ष एक टोली सेमिफाइनलमा प्रवेश गर्ने छ । नेपालले बिहीबार आयोजक राष्ट्र बहराइन विरुद्ध खेल्ने छन् ।