२ कार्तिक २०८० शर्मिला विश्वकर्मा, निजगढ, बारा
मधेस प्रदेश अन्तर्गत बारा जिल्लाको निजगढ नगरपालिकामा यसै क्षेत्रमा रहेका जनप्रतिनिधिहरू र विभिन्न प्रकारका अपाङ्गता भएका महिला तथा व्यक्तिहरू बिचमा उनीहरूका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन विश्लेषण र कार्यान्वयनको अवस्थाको विषयमा छलफल गरिएको छ । पहिचान नेपालको आयोजना तथा Disability Rights Fund को सहयोगमा बारा जिल्लाको निजगढ नगरपालिकामा ” लैङ्गिक हिंसा विरुद्ध हाम्रो ऐक्यबद्धता, सभ्य र सम्मानित समाज निर्माणमा गरौँ प्रतिबद्धता ” भन्ने नारा सहित गत असोज २९ गते देखि कार्तिक १ गते सम्म अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन विश्लेषण र कार्यान्वयनको अवस्था सम्बन्धी ३ दिने अन्तरक्रियात्मक गोष्ठी गरिएको हो ।
सो अन्तरक्रियात्मक गोष्ठीको तेस्रो दिन अर्थात् अन्तिम दिन पहिचान नेपालकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक इच्छा के.सी.ले मधेस प्रदेशका स्थानीय निकायहरू अपाङ्गता मैत्री बनाइनु पर्ने, अपाङ्गता भएका व्यक्तिहरू प्रति संवेदनशील हुनुका साथै अपाङ्गताकै कारण आत्म सम्मानमा चोट पुर्या,उने कार्य गर्न नहुने, अपाङ्गता भएका व्यक्तिहरू प्रति संवोधदनशिल हुनुका साथै सभ्य भाषा प्रयोग गर्नु पर्ने बताउनु भयो । साथै उहाँले यस क्षेत्रमा विभिन्न समयमा पूर्ण तथा अति असक्त अपाङ्गता भएका महिलाहरू हिंसामा परेको पाइएको र उनीहरूलाई न्याय दिलाउन र हिंसामुक्त समाज निर्माण गर्न स्थानीय निकायले तत्परता देखाउनु पर्ने कुरामा जोड दिनु भयो ।
यसै क्रममा निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने सबैको दृष्टिकोण सकारात्मक बनाइनु पर्ने, उनीहरूका लागि राज्यले जनशक्ति उत्पादन गरी स्रोत साधनको व्यवस्था गर्नु पर्ने बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूमा भएको हीनताबोध हटाएर अगाडि बढ्नु पर्ने भन्दै आगामी दिनमा यस निजगढ नगरपालिका मार्फत अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने, उनीहरूका लागि बनेका ऐन कानुन, नीति नियमहरू कार्यान्वयन गरी सेवा प्रदान गर्ने, उनीहरूको न्यायको लागि काम गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सो कार्यक्रममा उक्त नगरपालिकाकी उपमेयर सोममाया थिङले अबका दिनमा निजगढ नगरपालिका अपाङ्गता मैत्री बनाइने, कार्यलयको बाटो र र्याम्पमा सजावटका लागि राखिएका फूलका गमला तथा अन्य अवरोधहरुले अपाङ्गता भएका व्यक्तिहरुको आवगमनमा पारेको असरलाई तत्कालै समाधान गर्ने र अपाङ्गता अनुकुलको वातावरण निर्माण गर्ने बताउनु भयो । साथै उहाँले जो कोहीले पनि अपाङ्गता भएका व्यक्तिहरुको पीडा महसुष गर्नु पर्ने, घर भित्र नै लुकाएर राखिएका अपाङ्गता भएका व्यक्तिहरुलाई बाहिर ल्याएर आवश्यक सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताउदै निजगढ नगरपालिका भित्र १३ वटा वडाहरुमा क वर्गका ६० जना, ख वर्गका २५२ जना, ग वर्गका ८३ जना र घ वर्गका २८ जना गरी ३२६ जनाको पहिचान भएको बताउनु भयो ।
यसै क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशकी उपाध्यक्ष अञ्जु धितालले अपाङ्गता भएका व्यक्तिहरुलाई सीप प्रदान गरिनु पर्ने, राज्यले यपलब्ध गराएका सेवा सुविधाहरु अपाङ्गता अनुकुलको वातावरणमा प्रदान गरीनु पर्ने बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरुले पनि सामाजिक सुरक्षा भत्ताका लागि मात्रै नभएर आफ्नो पहिचान र अन्य सेवा सुविधाका लागि अपाङ्गता परिचय पत्र बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।
सो ३ दिने छलफलमा मधेश प्रदेशमा रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि काम गरिनु पर्ने, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा जनप्रतिनिधिहरुले अपाङ्गताका विषयमा जानकारी राख्नु पर्ने, स्थानीय निकायका कार्यक्रमहरुमा उनीहरुलाई सहभागी गराइनु पर्ने, प्रत्येक स्थानीय निकायमा एक जना अपाङ्गता भएकव व्यक्तिलाई रोजगार दिनु पर्ने, अपाङ्गता सहायता कक्षा राखिनु पर्ने, ऐन कानुन तथा नीतिनियमहरुलाई कार्यन्वयन गर्दै शिक्षा, स्वास्थ्य तथा रोजगारका कार्यक्रमहरु सञ्चालन गरिनु पर्ने बताएका थिए ।
त्यसै गरी निजगढ नगरपालिकाका सबै वडाका वडा अध्यक्षहरुले अबका दिनमा अपाङ्गता मैत्री भौतिक संरचना निर्माण गर्ने, राज्यले उपलब्ध गराएका सेवा सुविधाहरु सहज रुपमा उपलब्ध गराइने तथा हिंसा न्यूनिकरणका लागि काम गरिने बताउनु भएको थियो ।