काठमाडौं । हिन्दु नेपालीको महान चाड बडा दशैँको सातौँ दिन आज फूलपाती, दशैँ घर वा पूजा कोठामा फुलपाती भित्र्याईँदै छ । दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीको शुभसाइतका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याउने परम्परा छ ।
फूलपाती कूल परम्पराअनुसार भित्र्याउने भएकाले यसको साइत नदिइने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । काठमाडौको हनुमानढोका दरबारस्थित दसैँघरमा आज विशेष समारोहकाबिच गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने तयारी गरिएको छ ।
गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले फूलपाती ल्याउने परम्परा छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती भित्र्याउने गरिन्छ ।