पवनको राष्ट्रिय कीर्तिमान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक ७ गते, मंगलवार ०७:५५

काठमाडौं, कात्तिक ६ गते ।मित्रराष्ट्र चीनको हाङझावमा जारी चौथो एसियाली पारा खेलकुदको पावर लिफ्टिङमा नेपालका पवन घर्ती मगरले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
एक्सएससी जिम्न्याजिममा भएको पुरुष ४९ केजीमुनिको समूह ‘बी’ को प्रतिस्पर्धामा २८ वर्षीय पवनले ७६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेको प्रशिक्षक सञ्जय महर्जनले जनाएका छन् । यसअघि ७५ केजीको कीर्तिमान पवनकै नाममा थियो । उनले उक्त कीर्तिमान दुबइमा यसै वर्ष भएको विश्व पारा पावर लिफ्टिङ च्याम्पियनसिपमा बनाएका थिए ।

ब्याडमिन्टन ः

ब्याडमिन्टनमा नेपाली खेलाडी पराजित भएका छन् । नेपालबाट सोमबार प्रकाश अधिकारी र हेमबहादुर गुरुङले सिंगल्समा प्रतिस्पर्धा गर्ने तालिका थियो ।
पुरुष सिंगल्स एसएल ४ को समूह ‘डि’ मा इन्डोनेसियाका रम्दानी हिक्मतले प्रकाशलाई २१–९ र २१–५ को सोझो सेटमा पराजित गरे । पुरुष सिंगल्स एसयु ५ को समूह ‘जी’ मा अर्का खेलाडी हेम रिटायर्ड भएपछि उनका प्रतिद्वन्द्वी चाइनिज ताइपेइका पु गुइ यु विजेता बने । दुईबीचको खेल सुरु नै हुन सकेन ।

टेबलटेनिस ः

टेबलटेनिसमा नेपालका डिगमसिंह चेम्जोङ र विवेक राईले सोमबार मिश्रित प्रदशर्न गरेका छन् । पुरुष सिंगल्समा दुवैले दुई खेल खेलेका थिए । दुवैले एकमा जित र अर्कोमा हारको सामना गरे ।
पुरुष सिंगल्स क्लास ४ को समूह ‘एफ’ मा डिगमले किर्गिस्तानका सरीबइभ साइरीबेकलाई ११–४, ११–४ र ११–३ ले पराजित गरे । अर्को सिंगल्समा जापानका साइतो गेन्कीले डिगमलाई ११–५, ११–४ र ११–५ ले हराए ।
पुरुष सिंगल्स क्लास ७ को समूह ‘बी’ मा विवेकले टिमोर लिस्टेका वेर्नाडो कार्भेल्हो डिलाई ११–३, ११–२ र ११–६ ले पाखा लगाए । अर्को प्रतिस्पर्धामा चीनका केली लिउले विवेकलाई ११–४, ८–११, ११–५ र ११–० ले पन्छाए ।
पुरुष सिंगल्स क्लास ३ को समूह ‘सी’ मा थाइल्यान्डका लोवोङ अनुराकले नेपालका केशव थापामाथि ११–४, १२–१० र १६–१४ को कठिन जित दर्ता गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु