बबुरो कोरला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २६ गते, आईतवार १८:४३

डा. हरिकुमार श्रेष्ठ
जोमसोम, मुस्ताङ्ग

अहो !
एकाबिहानैको कन्चटै सेक्ने सिरिठोमा
कति दङ्ग हुनु
कति फुरुङ्ग हुनु
कति प्रफुल्ल हुनु
कति लट्ठ हुनु
हेरेर एकटक
रोसनिले उमङ्ग छाएको
सुन्दर, शान्त र विशाल मरुभूमिजन्य फाँट
घेरिएर बसेको रङ्गिन पहाडहरुले
खोज्दै समृद्धि र उज्वल भविष्य ।

देखिन्छन् मनोरम प्रकृतिका उपहारहरु
डोरिएका हुन्छन् यात्रीहरु एकसूत्रमा
मिल्छ बान्की घुम्ने र रमाउनेको
सहेर बाउठिँदो र कठ्याङ्ग्रिदो
चिसो हावाको धक्का ।

सुन्दर अति सुन्दर
मनोरम पहाडी दृश्यहरु
बनेर लमतन्न लहरहरु
लाग्दथ्यो मानिसहरु मात्र बेहुला बेहुली बन्छन्
तर त्यहाँ त
बेहुली बन्छन् पहाडहरु पनि
सिँगारिन्छन् सफेद चाँदीको घुम्टोले
अनि प्रकृतिका गरगहनाहरुले
बन्छन् मनमोहक र लोभैलाग्दो
चपक्क अँगालोमा बेरुँजस्तो
सर्माउँदै खेल्छन् लुकामारी
आकाश, कोरला र यात्रीसँग
अनि
कसिएर मायाप्रीतिको गाँठोमा
गर्छन् चुम्बन खुलेर रम्दै नील गगनसँग ।

भेंडा भेंडा संघ भनेजस्तै
देखिन्छन् झुण्डझुण्डमा
गुडुल्किएका एकै ठाउँमा
भेंडाच्याङ्ग्राका बथानहरु
चर्छन् चहार्दै बुच्काबुच्कीहरु
धस्दै दाह्रा जोतेर मरुभूमिको भुईँ भुइँमा
जिउने आशा बोकेर
जंङ्गी भोटे कुकुरको रखवारीमा ।

ठडिएका छन् सीमा स्तम्भहरु
साक्षी बस्दै नेपाल र चीनको
भरिपूर्ण छ चीनको कोरला
घेरिएको छ मजबुद बार
अनि पोसाकमा सजिएका राईफलधारीरुले
सुसज्जित छन् रे अत्याधुनिक यन्त्रहरुले
विशाल र लोभलाग्दा भवनभित्र
त्यसैले त सुरक्षित छ चीन सबैतिर ।

तर विडम्बना !
टुहुरो छ
टिठ लाग्दोछ
दया लाग्दोछ
माया लाग्दोछ
सर्म लाग्दोछ
बबुरो नेपाली कोरला
छैनन् कोही सुरक्षाका पहरेदारहरु
खेल्दैनन् परेड त्यहाँ लेफ्ट, राइट र अघि बढ् भन्दै
अनि छैनन् त्यहाँ एकझर पानी ओत्ने आश्रयका पूर्वाधारहरु
छन् त केबल
ठिङ्गो सीमा स्तम्भहरु
तर बन्न सक्दैन् ती वीर बलभद्र र लखन थापा
त्यसैले त लुटिन्छन् दिनरात
नेपालको अस्मिता
कालापानी, लिपुलेक, गुञ्जी र सुस्ता बन्दै ।

बिचरा !
थलिएछ कोरला
विगत भूकम्पको निशानिले
अनि बचेको छ अपहेलित भएर
त्यसैले त,
छैन जोस, जाँगर र उमङ्ग
छैन आवत जावत र चहल पहल
छ त एकतर्फी
एकोहोरो रोटी पाक्दैन भन्थे
तर पाक्दोरहेछ त्यहाँ
वर्षको एक दुई याम
चिनीया ताईमा ।

लौ अब त
जाग्दैछ नेपाल पनि
गरेर आशा मीठो बास्ना र स्वादको
अनि
खडेरीको बिरुवाले मलजल पाएसरी
हुर्काउँदै छ सम्बन्धका नयाँ बिरुवाहरु
लाग्दैछ मलहमपट्टी
मुस्ताङ्गी जनताको दर्द र पीडाको घाउमा
देखाएर कर्तव्यवोध र मित्रवत व्यवहार
लगाउँदै चक्मा मित्रताको ढोकामा
खुलाउँदै र बढाउँदै सीमा व्यापार र सम्बन्ध ।

त्यसैले त,
अहिले हामी खुशीले गद्गद् र गौरवान्वित भएका छौँ
अब त हामी पनि सुरक्षित हुनेछौँ नेपालको कोरलामा
एक झर पानी र हिउँमा ओत लाग्न पाइन्छ त्यहाँ
जाडोमा भोकले दापिएको पेट उकास्न पाइन्छ त्यहाँ
अकस्मात बिरामी पर्दा मलहमपट्टी लगाउन पाइन्छ त्यहाँ
अनि बढीभन्दा बढी समय बस्दै रमाउन पाइन्छ त्यहाँ
तर कहिले तङ्ग्रिन्छ होला बबुरो नेपाली कोरला ?

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु