लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरू, यूएनआई महिला कमटीको सचेतना र्‍याली (फोटो फिचर सहित )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर ९ गते, शनिबार १३:२३

काठमाडौं । आज नोभेम्बर २५ अर्थात् लैङ्गिक हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले लैङ्गिक हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरेबमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर १६ दिनसम्म यो दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि विगत २६ वर्षदेखि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस १६ दिन नै मनाइँदै आएको छ । सोही बमोजिम ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आजदेखि ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सुरू गरिएको हो ।

यसैबीच दुई करोड भन्दा धेरै श्रमिकहरूको प्रतिनिधित्व गर्ने विश्वव्यापी संघ यूएनआई ग्लोबल युनियनको नेपाल च्याप्टर यूएनआई नेपाल सम्पर्क परिषद्ले काठमाडौंमा सचेतना र्‍याली निकालेको छ । भद्रकालीमा भेला भएर निकालिएको र्‍याली रत्नपार्कस्थित शान्ति बाटिकामा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई नेपाल सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष समेत रहेकी यूएनआई नेपालकी उपाध्यक्ष भगवती खड्का, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंकी सचिव एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महरा तथा विभिन्न ट्रेड युनियनका नेताहरूले सम्बोधन गरेका थिए ।

र्‍यालीमा इन्टरनेशनल लेवर अर्गनाइजेशन (आईएलओ) अभिसन्धी १९० पारित गर्नुपर्ने, लैङ्गिक हिंसा अन्त्य गरिनुपर्नेलगायत विभिन्न नारा लगाइएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु