१५ मङ्सिर २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ
राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा आज काठमाडौँमा आफ्नै कार्यकक्षमा अपाङ्गता भएका व्यक्तिहरूको ३२ औ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमहरूका विषयमा सञ्चारकर्मीहरूलाई जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन गरेको छ ।
यस पत्रकार सम्मेलनमा नेपाल नेत्रहीन संघका पूर्व अध्यक्ष रमेश पोखरेलले हरेक वर्षको डिसेम्बर ३ तारिका दिन विश्वभर नै अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाइने र नेपालमा पनि अपाङ्गता भएका व्यक्तिहरूका विभिन्न सवालहरू, मुद्दाको विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गर्न विभिन्न कार्यक्रमहरूको आयोजना गरिने बताउनु भयो । साथै उहाँले राज्यको चौथो अङ्गको रूपमा रहेको सञ्चार माध्यम र सञ्चारकर्मीहरूले अपाङ्गताका सवालहरूलाई प्राथमिकताका साथ स्थान दिन आवश्यक रहेको र अपाङ्गता भएका व्यक्तिहरूको ३२ औ अन्तर्राष्ट्रिय दिवस सफल बनाउन महत्त्वपूर्ण भूमिका रहने भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गर्न पनि सहयोग गर्ने भएकोले यस दिवसलाई सफल बनाउन सबैलाई आग्रह गर्नु भयो ।
त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराइले यस महासंघले देशै भरी रहेका अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकार सुनिश्चित गर्नका लागि निरन्तर रूपमा काम गर्दै आएको भन्दै पहिचान हुन नसकेका अपाङ्गता भएका व्यक्तिहरूको खोजी गर्न र अपाङ्गताको विविधतालाई संवोधन गर्न राज्यसँग पहल गरिरहेको बताउनु भयो । साथै डिसेम्बर ३ तरिकमा मनाइने अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस सफल पार्न सबैलाई आग्रह गर्नु भयो ।
यसै क्रममा अपाङ्गता भएका व्यक्तिहरूको ३२ औ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमहरू जस्तै: डिसेम्बर ३ तारिका दिन ” दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिहरूको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता ” भन्ने राष्ट्रिय नारा सहित निम्न कार्यक्रमहरूको आयोजना गरिने उक्त पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ । उस दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमहरूको विवरण यस प्रकार रहेको छ ।
१. डिसेम्बर २ तारिकमा राष्ट्रिय पत्रपत्रिका तथा सञ्चार माध्यमहरूका शुभकामना सन्देश प्रकाशन । यही दिनमा ५ बजे भद्रकालीमा दीप प्रज्वलन । साथै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ संशोधनका लागि समीक्षा सम्बन्धी परामर्श गोष्ठी ।
२. डिसेम्बर ३ तारिका दिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सहकार्यमा भृकुटीमण्डपमा बिहान ७:३० बजे भेला भएर प्रभात फेरी कार्यक्रम, मूल समारोह विहानः १० बजे, अपाङ्गताको क्षेत्रमा योगदान पुर्यानएका विभिन्न व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान, अपाङ्गताका सवालमा लोकदोहोरी प्रतियोगिता, अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन क्षमता सम्बन्धमा समूहगत छलफल कार्यक्रमहरूको आयोजना गर्दै तारिक सम्म अपाङ्गताका विषयमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिने बताइएको छ ।