तार्केश्वर मेयर रनिङ शिल्डमा ९ खेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १६ गते, शनिबार ०५:४१

काठमाडौ ।तार्केश्वर नगरपालिकाको आयोजनामा शनिबारदेखि सुरु हुने दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगितामा टेबलटेनिस, एथलेटिक्स, भलिबल, कबड्डी, बास्केटबल, उसु, कराते, तेक्वान्दो र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी गराए । दोश्रो संस्करणमा टेबलटेनिस, बास्केटबल र ब्याडमिन्टन थप गरिएको हो ।
प्रतियोगितामा विभिन्न ४९ विद्यालयका २ हजार २ सय ५४ खेलाडीले प्रतिस्पर्धा गर्ने शिक्षा, युवा तथा खेलकुद शाखा, तार्केश्वर नगरपालिका प्रमुख पदमबहादुर खत्रीले बताए ।
जम्मा ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टनमा ३, भलिबल र कबड्डीमा समान २–२, एथलेटिक्समा २६, कराते, उसु र तेक्वान्दोमा समान १२–१२, टेबलटेनिसमा ३ तथा बास्केटबलमा २ स्वर्णका लागि खेल हुनेछ ।
टिम च्याम्पियनले १ लाख, दोश्रोले ६० हजार, तेश्रोले ४० हजार र चौथोले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गत संस्करणको उपाधि हिमरश्मीले जितेको थियो ।
मंसिर २२ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब २२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । खेल तार्केश्वर नगरपालिकाका विभिन्न स्थानका साथै एथलेटिक्सको ट्रयाक इभेन्ट भने हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु