अपाङ्गता भएका महिला विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा छलफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २० गते, बुधबार ०६:५२

२० मङ्सिर २०८० शर्मिला विश्वकर्मा, ललितपुर

अपाङ्गता भएका व्यक्तिहरूको ३२ औ अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले हिजो मंसिर १९ गते ललितपुरमा अपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।

Disability Rights Fund को सहयोग र नेपाल नेत्रहीन संघ, श्रवणदृष्टिहीन अभिभावक संघ, राष्ट्रिय बहिरा महासंघ नेपालको संयुक्त आयोजनामा गरिएको सो कार्यक्रममा आयोजक संस्था अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँचको अवस्था र सवालहरूमा कार्यपत्र प्रस्तुत गर्नु भयो । यसै क्रममा उहाँले अपाङ्गताको विषयमा जानकारी, अपाङ्गता परिचय पत्रको प्रकार, अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क, अपाङ्गताको समस्या, अवरोधको कारण हिंसाको जोखिम लगायतका विषयमा प्रस्ट पार्दै अपाङ्गता भएका व्यक्तिहरूका लागि समाजमा विभिन्न अवरोधहरू रहेको र यसलाई हटाउनका लागि भएका विभेदकारी नीति नियमहरूलाई संशोधन गर्नु पर्ने, न्यायिक कार्य विधिमा सहयोगी सहितको निर्णय पद्धति लागु गरिनु पर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले यस कार्यशालामा भएको छलफलबाट आएका सुझावहरूका आधारमा अवधारणा पत्र तयार गरी वकालत तथा पैरवी गर्ने पनि बताउनु भयो ।

यस कार्यक्रममा काठमाडौँ ल क्याम्पसका सह-प्राध्यापक एवं अधिवक्ता कपिल अर्यालले अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँच अभिवृद्धिका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।यसै क्रममा उहाँले सरकारी निकायहरूमा पहुँचयुक्त संरचना निर्माण गर्ने कार्यको सुरुवात भएको भए पनि शौचालयहरूमा भने एउटा खुड्किलाले पनि अवरोध हुने गरेको, स्थानीय निकायका भवनहरू पहुँचयुक्त बन्न नसकेको बताउनु भयो । साथै उहाँले प्रस्तुतीकरणका क्रममा अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोधहरूमा कानुनी नीतिगत, मनोवृत्तिगत, सूचना तथा सञ्चार, भौतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक लगायतका अवरोधहरू रहेको बताउँदै अपाङ्गताको विविधतालाई सबैले सम्मान गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

यस कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका प्रहरी नायब उपरीक्षक रुपा थापाले नेपाल प्रहरीका कार्यहरूलाई अपाङ्गता मैत्री तथा पहुँचयुक्त बनाउने प्रयास गर्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरू तथा महिलाहरूको न्यायको लागि सक्दो सहयोग गर्ने बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षमा विभिन्न हिंसामा परेका अपाङ्गता भएका महिलाहरूको तथ्याङ्क उपलब्ध गराउने पनि बताउनु भयो ।

अपाङ्गता भएका व्यक्तिहरूको ३२ औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले ललितपुरमा आयोजना गरेको अपाङ्गता भएका महिला विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयक कार्यशाला गोष्ठीमा ताराकेश्वर नगरपालिकाका उपमेयर सृजना बुर्लाकोटीले सरोकारवाला निकायहरूले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई सम्बोधन गरिनु पर्ने, अन्य अपाङ्गता भएका व्यक्तिहरूका साथै अटिजम अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा दिनका लागि दिवा सेवा सञ्चालन गर्न स्थानीय निकायले सहयोग गर्नु पर्ने बताउनु भयो । यसै समाजमा अपाङ्गता भएका व्यक्तिहरू प्रतिको दृष्टिकोण, आंचारणमा सकारात्मक परिवर्तन ल्याउनको लागि सबै एक जुट भएर काम गर्नु पर्ने पनि बताउनु भयो ।

कार्यक्रममा कानुनी निकाय, स्थानीय निकाय, कानुनी निकायहरूले अपाङ्गता भएका व्यक्तिहरूको सवालहरूलाई संवोधन गर्न, अधिकार सुनिश्चित गर्नका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु