कोप २८ सम्बन्धी छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष १३ गते, शुक्रबार ०६:१६

भूमिकला पौडेल

युएसएआईडि, स्वच्छ ऊर्जा नेपाल, अक्सफाम, स्वच्छ हावा सञ्जाल नेपाल तथा क्लाइमेट एक्सन नेटवर्क साउथ एशिया (कान्सा) नेपालको संयुक्त आयोजनामा राजधानीमा विश्व जलवायु सम्मेलन (कोप २८) सम्बन्धी एक छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोप २८ मा सहभागि हुँदाको अनुभव, कोप २८ को उपलब्धी तथा आगामी कार्यदिशा बारेमा छलफल तथा जानकारी आदान प्रदान गर्ने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमलाई संवोधन तथा सहजिकरण गर्नुहुँदै स्वच्छ ऊर्जा नेपालका अध्यक्ष मञ्जित ढकालले कोप २८ मा सहभागिता जनाउनु हुने सहभागिहरू तथा यसलाई नजिकबाट नियाँलिरहेका सबै व्यक्तिहरूको अनुभव तथा अभिव्यक्ति अत्यन्तै महत्वपूर्ण रहेको बताउँनु भयो । त्यसैगरी स्वच्छ ऊर्जा नेपालका महासचिव राजन पराजुलीले कोप २८ मा नेपालको तर्फबाट तिन सय जनाको सहभागिता रहेको जानकारी दिनुहुँदै यो सम्मेलन नेपालका लागि ऐतिहासिक सम्मेलन भएको बताउनु भयो ।
कार्यक्रममा प्यानल छलफलमा रहनु भएका वन तथा वातावरण मन्त्रालयका उपसचिव, डा. शिव खनाल, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका विज्ञ पपुलर जेण्टल, रिपब्लिक मिडियाका प्रतिनिधी श्रीराम सुवेदी तथा नेपलिज युथ फर क्लाइमेट एक्सनका सञ्जाल संयोजक अन्जली साइ चालिसेले कोप २८ मा सहभागिता जनाएपछिको अनुभव सुनाउँदै विश्व जलवायु क्षेत्रमा पर्वतीय क्षेत्रको मुद्दा एकदमै महत्व तथा प्राथमिकताका साथ उठ्नु अत्यन्तै सकारात्मक भएको बताउँनु भयो । अनुभव बाँड्ने क्रममा प्यानलिष्टहरूले सञ्चार माध्यमहरूले कोप २८ को विषयलाई प्राथमिकताका साथ उठाएको, युवा तथा सामाजिक समावेशीताको सवाल उठेको, नेपाल सरकारको तयारी राम्रो रहेको, नेपाली सहभागिहरूले राष्ट्रिय एकता झल्काउन सफल रहेको, सम्मेलनमा नेपालको आफ्नो छुट्टै पेभेलियन (मण्डप) भएको र यसले विशेष महत्व पाएको तथा यसबाटै चालिस वटा सवालमा छलफल गर्न पाएको बताउँनु भयो ।
कार्यक्रमा कोप २८ का सहभागि तथा सो छलफलका सहभागिहरूले जलवायु वित्त तथा जलवायु न्यायमा नेपालको पहुँच पुग्न नसकेको गुनासो गर्दै यसको सुनिश्चितताका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
कोप २८ भनेको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धिको २८ औँ सम्मेलन हो, जुन गत मङ्सिर १४ देखि २६ अर्थात नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा भएको थियो र जसमा नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो भने सो सम्मेलनमा नेपालका तर्फबाट नागरिक समाज तथा सञ्चार माध्यमका प्रतिनिधीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो । यस सम्मेलनमा जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई उठाइएको बताइन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु