२०८० पौष १८, नेपाल डेरी एसोसिएसनको केन्द्रिय समितिको जुम बैठकले एसोसिएसनको स्थापना दिवस माघ ७ गते काठमाडौंमा संस्थाको २३औं वार्षिक साधारणसभा सम्पन्न गर्ने भएको छ ।
यो भन्दा अगाडीको बैठकले धनगढीमा गर्ने भनिएको वार्षिक साधारणसभा विविध कारणले काठमाडौंमा सार्नु परेको कुरा महासचिव हेमचन्द्र खनालले बताए । यसपटक वार्षिक साधारणसभामा एसोसिएसनले नियमित गर्ने प्रक्रिया अन्तर्गत आर्थिक, साङठानिक र अध्यक्ष मार्फत एसोसिएसनले वार्षिक रुपमा गरिका गतिविधि माथि छलफल एवं आगामी वर्ष संगठनले गर्ने वार्षिक कार्ययोजना पास गर्ने बारेमा छलफल गरिने कुरा अध्यक्ष प्रल्हाद दाहालले बताए ।
एसोसिएसनका १३ जिल्ला र सात प्रदेशबाट करिब ३ सय प्रतिनिधिको सहभागीता रहने कुरा साधारणसभा सम्पन्न गर्नका लागि तोकियाका संयोजक एवं केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमलाले जानकारी गराए । अहिले सात वटै प्रदेश एवं जिल्लामा धमाधम साधारणसभा सम्पन्न गरि प्रतिनिधि पठाउने काम भइरहेको छ । यही क्रममा पुस २० गते बागमती प्रदेश, पुस २१ गते सुदुरपश्चिम प्रदेश र पुसको अन्तिम हप्ता लुम्बिनी प्रदेशको साधारणसभा सम्पन्न हुनेछ भने अन्य प्रदेशमा साधारणसभा सम्पन्न भइसकेको कुरा अर्का उपाध्यक्ष मनोज कुमार घिमिरेले जानकारी गराए ।