एमाले नेता माधव ढुंगेलको प्रश्न ः कांग्रेस कहाँ छ ?
काठमाडौं, २५ पुष । लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली नेता डा. सुरेन्द्र झाले नेपाल–भारत सातौं परराष्ट्रमन्त्रीस्तरीय बैठक अत्यन्तै ऐतिहासिक र सफल रहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले गरिरहेको काममध्ये नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सफल कामको रुपमा दर्ज भएको उनको टिप्पणी छ । उक्त बैठकलाई आफ्नो दल सम्मिलित सरकार र सत्ता गठबन्धनले सफल रूपमा लिएको झाले दोहोर्याए ।
आज (बुधबार) रिपोर्टर्स नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने–‘परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भएका सन्धि÷सम्झौताहरु नेपालको आर्थिक विकासलाई मध्येनजर गरेर हेर्ने हो भने यसले धेरै ठूलो योगदान पुर्याउँछ जस्तो हाम्रो बुझाई छ । आउने दश वर्षमा १० हजार मेगावाट विजुली भारत सरकारले किन्ने भनेको छ । २ महिनाअघि नै भारत सरकारको संघीय क्याविनेटबाट यो कुरा पारित भएको थियो । अहिले आएर त्यो सम्झौता नेपाली भूमीमा भयो । विकासको दृष्टिकोणले हेर्दा अत्यन्तै महत्वपूर्ण छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपाल र भारतबीचको व्यापार घाटा टाउनको लागि पनि उर्जा क्षेत्रमा सहकार्य आवश्यक रहेको सुनाए । उनले भने,‘ब्यालेन्स अफ ट्रेडको कुरा गर्दा भारतसँग ठूलो व्यापार घाटा छ । हाम्रो देशको ६४ प्रतिशत हाराहारीको व्यापार घाटा भारतसँग छ । करिब ६० प्रतिशत व्यापार खासगरी आयात तथा निर्याताको व्यापार भारतसँग छ ।’ झाले नेपालमा हाईड्रोपावरको सम्भावना धेरै रहेको सुनाउँदै भारतसँग सहकार्य हुनु सुखद् पक्ष भएको उल्लेख गरे ।
उनले भने,‘नेपाललाई चाहिनेभन्दा बढि विजुली उत्पादन हुन्छ । त्योभन्दा बढि उत्पादन भारत बजारमा लैजानुपर्छ । राम्रो र ऐतिहासिक निर्णय भएको छ। भारतको बाटोबाट बंगलादेशलाई विजुली बेच्न सक्छौं । आर्थिक दृष्टिकोणबाट हेर्दा भारतीय विदेशमन्त्री माननीय जयशंकरको भ्रमण सफल भएको छ । भारत र नेपालबीच भएका चार बुँदे सहमति ऐतिहासिक छन् ।’
सहमतिमध्ये भारतीय दूतावासले सहयोग गर्ने रकम अधिकतम सिमा २० करोड पुर्याएकोबारे पनि गलत टिकाटिप्पणी भैरहेको उनको भनाई छ । उनले भने,‘यो प्रोसेस हेर्दा सुझबुझका साथ प्रोसेस चालिएको छ । अर्थ मन्त्रालयले सिफारिश गरेपछि मात्रै लगानी गर्ने भनिएको छ ।’ उनले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर पनि विजनेस नपाएको अवस्थामा भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणमा ती विमानस्थल सञ्चालनबारे कुरा राखिनु सकारात्मक भएको बताए ।
उनले भने,‘पोखरा र भैरहवाका हाम्रा दुई विमानस्थल, ती चीनको अनुदानमा बनाईएको हो । त्यसले विजनेस पाएको छैन् । दुवै विमानस्थलाई विजनेस दिने भनेर भारतीय विदेशमन्त्रीले प्रतिबद्धता जाहेर गर्नुभएको छ । यो आँफैमा सकारात्मक र राम्रो विषय हो ।’
झाले ती दुई विमानस्थल (पोखरा र भैरहवा) को परियोजना लागत बढाईएको टिप्पणी गरे । उनले भने,‘पोखरामा ६ देखि ८ अर्ब रुपैयाँ बढाईएको छ । भैरहवामा १० अर्ब हाराहारीमा बढि पैसा खर्च गरिएको छ। ती विमानस्थल सञ्चालनमा आएनन् भने ठूलो घाटा हुन्छ । भारत नेपालमा सुरक्षाको हिसाबले संवेदनशील छ । फिजिविलटी स्टडी (फाइनान्सियल सबै) हेर्नुपर्दथ्यो । भारत सरकारको पनि सहमति लिनुपर्दथ्यो । अहिले ती विमानस्थलाई विजनेस दिन भारत सरकार सकारात्मक छ । यो स्वागतयोग्य कुरा हो । यस्तै वैकल्पिक उर्जामा भारतले सहयोग गर्ने प्रतिबद्धता गरेको छ । यो पनि स्वागतयोग्य कुरा हो ।’
उनले सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक ऐतिहासिक रुपमा सफल भएको दोहोर्याउँदै अब नेपाल सरकारले ती सम्झौता कार्यान्वयनको लागि तयारीका साथ काम गर्नुपर्ने सुझाव दिए। उनले भने,‘अब नेपालको दायित्व भनेको कार्यान्वयनमा हुनुपर्छ । त्यसमा हामी पछि पर्नुहुँदैन् । १० हजार विद्यूत उत्पादन गर्ने कुरा पनि सहज नहुन सक्छ, उत्पादनमा पनि हाम्रो भूमिका राम्रो हुनुपर्छ । बजार पाएका छौं । यो खुशीको कुरा हो ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहालको कामको मुक्तकण्ठले प्रशंसा गरे । उनले भने,‘यो सरकारले ऐतिहासिक काम गरेको छ । सही दिशा लिएको छ । चाहे सुशासनको सवाल होस या विकास निर्माण सबैमा सरकार सही दिशामा छ । जनताले पाउनुपर्ने सेवा छिटोछरितो भएको छ । खासगरी सरकारले फड्को मारेको छ। भ्रष्टाचारको फायलको कुरा उठेको छ । थुप्रै काण्डको सवालमा पनि यो सरकराले राम्रो काम गरेको छ ।’ झाले ०४७ सालयता वर्तमान सरकारले राजनीतिक नेतृत्वलाई पनि सजायको भागिदारी बनाएको सुनाए । उनले भने,‘०४७ पछि सरकारले काम गरेर देखाएको छ । प्रभावशाली नेताले जेल भोगेको यो नै पहिलो हो । सत्तारुढ दलकै नेतालाई पनि जेल हालिएको छ । छानबिन गर्नु सानो विषय होईन । जनताका समस्या सम्बोधन गर्नु सामान्य होईन । सत्ता गठबन्धनको यो सरकार पाँचै वर्ष चल्छ । यसमा कुनै शंका गर्नुपर्दैन् ।’
उनले अहिले देखिएका सबैखाले चूनौतिलाई सामाना गरेर सही ट्रयाकमा लिएर जान सत्ता गठबन्धनभित्र उच्चस्तरमा सम्वाद भइरहेको सुनाए । उनले भने,‘बैशाखदेखि अर्थतन्त्रले गति लिन्छ । सरकार यसमा प्रतिबद्ध छ । संविधानलाई टेकेर संख्या पुर्याएर यो सरकार निर्माण भएको छ । कुनैपनि सत्ता गठबन्धनमा आवद्ध दलले असहयोग गरेको छैन । प्रधानमन्त्रीज्यूले पनि यो नै मेरो अन्तिम कार्यकाल भन्नुभएको छ र स्मरणीय काम गरेर जान्छु भन्नुभएको छ। हामी सघाउन प्रतिबद्ध छौं ।’
नेता झाले लघुवित्त र सहकारीबाट ठगिएका नागरिकहरुलाई पनि सरकारले न्याय दिन लागेको विश्वास दिलाए । प्रधानमन्त्री दाहालले त्यसबारे अग्रसरता लिएको उनको भनाई छ । उनले भने,‘सहकारी र लघुवित्त पीडितहरुलाई न्याय दिनुपर्छ । स्रोत नखुलाईकन गलत काम गरेर भ्रष्टाचार गरेर अरवौं रुपैयाँ कोअपरिेटिभमा जम्मा गर्ने अनि त्यो पैसा दुरुपयोग गर्ने काम भएको छ । रवि लामिछानेकै नाम आइरहेको छ । उहाँले एउटा कोअपरिेटिभको पैसा लगेर टिभीमा लगानी गर्नुभयो भनेर । त्यो टिभीको उहाँ एमडी हुनुहुन्थ्यो । नियामावलीले भन्छ की त्यो पैसा त्यसरी टिभीमा लगेर लगानी गर्न मिल्दैन भनेर । त्यसको बावजुदपनि गरिएको देखिन्छ । यो विषयमा प्रधानमन्त्रीले यो कुरालाई एकदमै सिरियस लिनुपर्छ । सहकारीको नाममा ठगी गर्ने र गलत गर्नेलाई कानुनको कठघरामा ल्याउनुपर्छ । सजाय दिनुपर्छ ।’
नेकपा (एमाले) का प्रभावशाली नेता माधव ढुंगेलले सरकारले सुशासनको नाममा ठूलो कुरापनि काम भने केही पनि नगरेको आरोप लगाए । उनले अहिले देशको आर्थिक अवस्था भयावह भएको टिप्पणी गरे ।
उनले नेपालको विद्युत नीति के हुने ? त्यसबाट जनतालाई कसरी लाभ दिने ? उत्पादन भएको क्षेत्र र ड्याम क्षेत्रका पीडितलाई के राहत दिने ?लगायतका विषय प्रधान हुने बताए । उनले भने,‘नेपालको राष्ट्रियता विद्युतको उत्पादन र त्यसबाट जनतलो पाउने रोयल्टीसँग गाँसिएको छ । सस्तोमा भारतलाई विजुली बेच्ने अनि भारतबाट महँगोमा किन्ने कुरा राम्रो होइन ।’
उनले १० वर्षभित्र १० हजार मेगावाट विजुली भारतलाई बेच्ने सहमतिप्रति आफूहरु सकारात्मक रहेको सुनाए । तर, त्यसबारेमा स्पष्ट व्याख्या गरेर त्यसको उत्पादन, लगानी र नेपाली जनतनाले पाउने रोयल्टीको पार्ट क्लियर गर्नुपर्ने ढुंगेलको भनाई छ ।
उनले सरकारको सुशासन पनि देखिएको भन्दै व्यंग्य कसे । उनले थपे–‘यो सरकार संसद्को गणितअनुसार बनेको हो । यहाँ सरकारले गरेका काम पनि भनियो । भुटानी शरणाथीृको केस शत्रु साँध्ने कुरा जोड्ने सुशासन भन्ने । सत्ता गठबन्धनको ठाउँमा पुगेपछि उहाँ (प्रधानमन्त्री) सल्याकसुलुक्क हुने । बालुवाटार काण्डको विषय पनि त्यस्तै, सत्ता गठबन्धनको ठाउँमा पुगेपछि चुप लागेर बस्ने । घुम्दै फिर्दै बालुवाटार काण्ड सत्ता गठबन्धनका दैलामो आएर टुँग्गिएपछि अनि सुशासन हरायो । यो सरकार विचारको एकताबाट बनेको सरकार हो र ?’
उनले सत्ता गठबन्धनबाट चाहेको रुपान्तरण दिन सकिन्छ भनेर पनि प्रश्न उठाए । उनले भने,‘आजको आर्थिक अवस्था भयावह छ । सहकारी र वित्तिय संस्थाको अवस्था के छ ? नेपालको इकोनोमी कस्तो छ ? विदेश जानेहरुको लामबद्ध छ । मन्त्रीले गाडी चढेकै छन् । मन्त्रालय ओहोरदोहोर गरेकै छन् । मन्त्री क्वार्टरमा बसेका होलान् । तर, राष्ट्रिय पुँजी कमजोर भएको छ । दलाल पुँजीलाई सरकारले प्रमोट गरेको छ । यसरी समाजवादको यात्रा हिँड्छौं भन्नु बेकारको कुरा हो ।’
सो क्रममा उनले अहिले नेपाली कांग्रेस कहाँ छ ? भन्दै प्रश्न गरे । उनले भने,‘सत्तामा कांग्रेस कहाँ छ ? हामीले देखेको छैन् । संसद्मा ठूलो दल त छ । सरकारमा कहाँ छ ? कहाँ विलय भएको छ ? कांग्रेस सुत्छ कि उठ्छ ?’ उनले देश बनाउनको लागि आफूहरुले एकपटक एकल बहुमतको सरकार मागेको पनि स्मरण गराए । उनले भने,‘एकल बहुमतको सरकार दिनुहोस, हामी हाम्रो भीजन र मिशनमा देश कस्तो हुन्छ भनेर देखाईदिन्छौं । आर्थिक समृद्धि र विकासको कुरा गरेका छौं ।’
नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा भएको सहमति सकारात्मक रहेको बताएका छन् । उनले भने,‘नेपाल जलस्रोतको धनी हो । यो हाम्रो सम्पत्ति पनि हो । जलस्रोतको विकासले आर्थिक समृद्धितिर देशलाइै अघि बढाउँछ । नेपालले उत्पादन गर्ने विद्युत भारतलाई १० हजार मेगावाट निर्यात गर्ने सहमति सकारात्मक छ । विद्युत उत्पादन गर्ने कुरामा हाम्रा लक्ष्य छन् । अनि चूनौति पनि छन् । समयमा हामीले परियोजना सम्पन्न गर्ने दायित्व छ । सबैको सहयोग चाहिन्छ । हाम्रो उत्पादित विद्युत पहिलो प्राथमिक आफ्नो नागरिकलाई दिनुपर्छ । ग्रामिण भेगका नागरिकलाई उज्यालो दिनुपर्छ । यो राज्यको कर्तव्य हो । बाँकी रहेको विद्युत निर्यात गर्नुपर्छ । यसले आर्थिक कुरालाई सघाउँछ ।’
विद्युतमा नेपालको बजार नै भारत भएको उनले सुनाए । उनले भने–‘ सुक्ष्म तरिकाले गर्नुपर्छ । भारतलाई विश्वासमा राख्नुपर्छ । नेपाली स्वाभिमानलाई कायम राखेर हामीले दुवैको सहअस्तित्व र संवेदनशीलताका आत्मसात गरेर दुवै छिमेकीलाई विश्वासमा लिनुको विकल्प छैन् । भारत आँफैमा ठूलो बजार हो । यो कुरामा सबै दल जिम्मेवार हुनुपर्छ । भारतीय दूतावासबाट खर्च हुने पैसा एकद्धार प्रणालीमा हुनुपर्छ । सरकारलाई जानकारी हुने कुरा राम्रो हो । वन डोर र रकमको सिमा राख्नु उपयुक्त हो ।’
उनले लघुवित्त र सहकारीमा भएको घोटालाबारे पनि सरकारले छानबिन गरेर पीडित जनतालाई न्याय दिनुपर्ने बताए । उनले भने,‘जनता ठगिएका छन् । सरकारले गलत गर्नेलाई छिटोभन्दा छिटो न्यायको कठघरामा ल्याउनुपर्छ । भाषणले पेट भरिँदैन् ।’
उनले कांग्रेस कहाँ छ ? भनेर एमाले नेताले प्रश्न गरेकोमा जवाफ फर्काउँदै कांग्रेस सबैतिर रहेको सुनाए । उनले भने,‘कांग्रेस सबै जिल्लामा छ, सबै बस्तीमा छ । सकारमा छ । यो भनिरहनुपर्ने कुरा होईन । अहिले कांग्रेस ठूलो दल छ । यसको आफ्नो ऐतिहासिक पृष्ठभूमि छ । हाम्रो ध्येय के हो भने अहिलेपनि मुलुक अप्ठ्यारोमा अवस्थामा छ । हामी जिम्मेवार छौं । यो संविधानको संरक्षण र सम्वद्र्धन गर्नु सबैको दायित्व हो । यसै संविधानभित्र बसेर कतिपयले संविधानको खिल्ली उडाएका छन् । म पनि संविधानसभा सदस्य हुँ । मुलुका संकट समाधान गर्ने कुरामा राजनीतिक दलहरुले साझा दृष्टिकोण राख्नुपर्छ । राजनीतिक सहिष्णुता राख्नुपर्छ । राष्ट्रिय सहमति आवश्यक हुन्छ ।’