काठमाडौं ।नेपाली चलचित्र ‘महाजात्रा’को पहिलो गीत ‘आहा क्या राम्रो’ सार्वजनिक भएको छ । माघेसङ्क्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको ‘आहा क्या राम्रो’ बोल रहेको गीत खुल्लामञ्चमा सेट लगाएर छायाङ्कन गरिएको हो । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर छ ।
गीतमा फिल्मका कलाकार विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झासँगै अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माको नृत्य छ । अरुण र आश्मा यो गीतमा मात्र रहेको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए ।
एक सयभन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।
फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात् षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खलामा ‘महाजात्रा’ मा जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको छ ।
फिल्ममा हरिवंश आचार्य, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।
आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।