नेपालमण्डल ट्रष्टको आयामिक कविता बाचनमा डा.अजयक्रान्ति शाक्यको सायरी लोकार्पण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ५ गते, शुक्रबार २२:२३

काठमाडौं। नेपालमण्डल लिट्रेचर कल्चर ट्रष्टको आयोजनामा शुभकामना आदान प्रदान तथा नेपालभाषामा आयामिक कविता बाचन सम्पन्न भएको छ। नेपालमण्डल लिट्रेचर कल्चर ट्रष्टको आयोजनामा शुक्रवार नेपाल संवत ११४४ नयाँ बर्ष शुभकामना आदान प्रदान तथा नेपालभाषामा आयामिक कविता बाचन कार्यक्रम सम्पन्न भएको हो।

आयामिक कविता बाचनमा नेपालभाषाका जनकवि तथा सुविख्यात कवि एवम् साहित्यकार दुर्गालाल श्रेष्ठ, लोक कवि राजभाइ जःकमि देखि पछिल्लो पुस्ताका चर्चित कविहरु रजनि मिला, दर्शन वीर शाक्य, अन्जना ताम्राकार, डाक्टर स्मृति शाक्य लगायत काठमाडौं महानगरपालिकाकी लोकप्रिय तथा जनप्रिय उपमेयर सुनित डंगोलले समेत कविता वाचन गरेर नौलो आयाम थप्ने कार्य भएको थियो।

नेपालभाषामा एघार कविहरुले समय सन्दर्भ अनुरुपका दिल छुने एक से एक कविता बाचन गरेर तरंगित पारेको मनहरुमाझ बागमती प्रदेशका पूर्वमन्त्री डा.अजयक्रान्ति शाक्यको मनैछुने शायरी लोकार्पण भएको थियो। आयामिक कविता बाचक एघारैजना कविहरुले डा.शाक्यले नेपालभाषामा लेखेको जि मैन थें नायाच्वना अर्थात म मैनझैं पग्लिरहे नामक शायरी लोकार्पण गरेर थप नौलो आयाम कायम गरेका थिए । शायरी लोकार्पण पश्चात डा.शाक्यले मनछुने पाँच शायरी बाचन गरेर माहोललाई अझ रौनकता थपिदिएका थिए।

केही बर्षअघि डा.शाक्यको उक्त शायरी नेपाली तथा अंग्रेजी भाषामा प्रकाशित भैसकेको छ। यो नेपालभाषामा प्रकाशित संस्करण भएको लोकार्पण समारोहमा अवगत गराइएको थियो। कार्यक्रमको संयोजन तथा संचालन नेपालभाषाका युगिन पत्रकार सुरेश किरण मानन्धरले गरेका थिएभने, कार्यक्रममा स्वागत भाषण आयोजक नेपालमण्डल लिट्रेचर कल्चर ट्रष्टका अध्यक्ष श्याम स्मृतले गरेका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु