काठमाडौं, १० माघ । गोवा नेपाली समाजले मृगौला रोगबाट पीडित काभ्रेको मण्डणदेउपुर नगरपालिका–१२ ज्याम्दीका कान्छाबहादुर पराजुलीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा पुन र भगवती बागेश्वरी टुर्स एण्ड ट्राभल्स प्रा. लि नेपालगञ्जकी अध्यक्ष एवं प्रगतिशील नेपाली समाज भारतकी केन्द्रीय सचिवालय सदस्य अनु विसीले संयुक्त रुपमा पीडित पराजुलीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
गोवा नेपाली समाजको आह्वानमा संकलित २ लाख २२ हजार चार सय ४८ रुपैयाँ मृगौला रोग पीडित पराजुलीलाई रकम हस्तान्तरण गरिएको हो । मृगौला रोगबाट पीडित रहेको कान्छाबहादुर पराजुलीको मृगौला प्रत्यारोपणका लागि डाक्टरहरुले सुझाव दिएका उर उनीकी श्रीमती सुष्माले आफू मृगौला दिनका लागि तयार भएको बताईन् ।
पीडित पराजुलीले गोवा नेपाली समाजमा जोडिएर सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । पीडित कान्छाबहादुरकी श्रीमती सुष्माले आफूहरु दुवै जना लामो समय माओवादी जनयुद्धमा होमिएको बताईन् । जनयुद्धपछि वैदेशिक रोजगारीमा गएका श्रीमानको मृगौलामा समस्या देखिएको अहिले सात वर्ष भइसकेको उनले बताईन् ।
अहिले चेकअपको काम भइरहेको र मृगौला प्रत्यारोपणका लागि अझै केही समय लाग्ने उनको भनाइ छ । उनले आफू मृगौला दिन तयार भएपनि खर्चका अभाव रहेको भन्दै सहयोगका लागि आह्वान गरिन् । सहयोगका लागि केही बुझ्न आवश्यक भए ९८६५४०६३६४ मा फोन गर्नसमेत उनले आग्रह गरिन् ।