भूमिकला पौडेल
“अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी बनेका कानुन तथा नीतिहरूको कार्यान्वयनमा सांसदहरूको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रत्याभूति गर्न बनेका कानुनी प्रावधानहरू कार्यान्वयनमा गर्नमा सांसदहरूको भूमिका के कस्तो रहन्छ भन्ने सम्बन्धमा छलफल गर्ने उद्धेश्यले नेपाल अपाङ्ग महिला संघले सिबिएम ग्लोबल डिसेबिलीटी इन्क्लुजनको सहकार्यमा सो अन्तरक्रियाको आयोजना गरेको हो ।
अन्तरक्रियामा आफ्नो मन्तव्य राख्नुहुँदै प्रतिनिधी सभा सदस्य माननिय रोशन कार्कीले कानुन तथा नीति बनाउने ठाँउमा अपाङ्गता भएका व्यक्तिहरू नपुगेसम्म उनीहरूको अधिकार सुनिश्चत नहुने कुरा औंल्याउनु हुँदै अबका दिनमा अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक क्षेत्रमा सहभागिता रहनु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरी प्रतिनिधी सभा सदस्य माननिय नगिना यादवले अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो अधिकार प्राप्तिका लागि काम गर्न सांसदहरूलाई बेलाबेलामा झक्झक्याई रहन पर्ने र त्यसका लागि अपाङ्गता भएका व्यक्तिहरूको एक विज्ञ समुह निर्माण गरि सो समुह मार्फत नीति निर्माण तहमा बस्नेहरूलाई वकालत गरिरहनु पर्नेमा जोड दिनुभयो ।
अर्का प्रतिनिधी सभा सदस्य माननिय गोमा लाभ सापकोटाले कुनै पनि नीति तथा कानुन निर्माण गर्दा खेरि त्यसले कुन समुदायलाई कसरी संवोधन गर्न भन्ने कुरामा राम्ररी सोचविचार गरेर मात्रै निर्माण गर्नुपर्ने तथा त्यसले अपाङ्गता भएका व्यक्तिहरू लगायतका पिछडिएका वर्गहरूको अधिकारको सम्मान हुने गरी निर्माण गर्नु पर्ने र सो को कार्यान्वयनमा पनि ध्यानदिनु पर्ने बताउँनु भयो ।
अन्तरक्रियामा राष्ट्रिय सभा सदस्य माननिय प्रकाश पन्तले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित होस भन्ने उद्धश्यले नै आफूले संकल्प प्रश्ताव पारित गराउनमा महत्वपूर्ण भूमिका खेलेको र अबका दिनमा पनि पुलको रूपमा रहने र समन्वयकारी भूमिका खेल्ने बताउँनुभयो ।
बाग्मती प्रदेश सभा सदस्य माननिय लक्ष्मी घिमिरेले कानुनी विषयसँग सम्बन्धित यस्ता कार्यक्रमहरूमा संघिय मात्र नभएर प्रदेश सभाका सांसदहरूलाई पनि सहभागि गराउनु पर्ने सुझाव दिनुहुँदै ती कार्यक्रमहरूबाट अपाङ्गताको सवाल उहाँहरूले पनि स्पष्ट रूपमा थाहा पाउने हुँदा विभिन्न कानुन तथा नीति निर्माण गर्दा अपाङ्गताको सवाल पनि संवोधन हुने गरि गर्न सक्ने बताउँनु भयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टीका दाहाल, उपाध्यक्ष मिना पौडेल, महासचिव देवकला पराजुली तथा संघकी मनिटरिङ तथा डकुमेन्टेसन अधिकृत दुर्गा कार्की तथा अन्तरक्रियामा सहभागि अपाङ्गता भएका व्यक्तिहरूले माननियहरूले समयसमयमा गर्नु भएका विभिन्न प्रतिवद्धताहरू पुरा गर्ने संदर्भमा ध्यानाकर्षण गर्न जोड दिनुपर्ने माग गर्दै हरतरहले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्नका लागि अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी बनेका कानुन तथा नीतिहरूको कार्यान्वयनमा सांसदहरूले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्नका लागि अनुरोध पनि गर्नुभयो ।