एन प्याब्सनको खेलकुद सप्ताह बिहीबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १७ गते, बुधबार ०७:०८

नेसनल प्याब्सन काठमाडौंको आयोजनामा खेलकुद सप्ताह बिहीबारदेखि हुने भएको छ । खेलकुद सप्ताहमा ब्वाइज फुटसल, ब्वाइज बास्केटबल, टेबलटेनिस, एथलेटिक्स र टग अफ वार गरी ५ खेलमा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष अमृतकुमार खड्काले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
कपनस्थित दीक्षालय नेपालमा हुने फुटसलमा ४० तथा शंखमूलस्थित नेरिक एकेडेमीमा हुने बास्केटबलमा २० टिमको सहभागिता रहने छ । एथलेटिक्स र टग अफ वार सिनामंगलस्थित एजीएम स्कुल तथा टेबलटेनिस धुम्बाराहीस्थित युनिभर्सल स्कुलमा खेलाइने छ । एथलेटिक्समा ६ तथा टेबलटेनिसमा २ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
एसइइ परीक्षाका कारण कक्षा ९ का विद्यार्थीलाई मात्र प्रतियोगितामा सहभागी गराइएको आयोजकका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलले बताए ।
पत्रकार सम्मेलनमा अध्यक्ष खड्काले विद्यालय खेलकुदलाई जोड दिन सकेको खण्डमा मात्र राष्ट्रका लागि उन्नत खेलाडी उत्पादन गर्न सकिने धारणा व्यक्त गरे । बिहीबार खेलकुद सप्ताहको टुंडिखेलमा औपचारिक उद्घाटन मात्र हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु