तेश्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।
फेब्रुअरी ६ देखि ११ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमा पुकार श्रेष्ठ, जुनियर ५७ केजीमा सुमितशरण तामाङ, सिनियर ५७ केजीमा रोशन अछामी र ८६ केजीमा साजन थिङ तामाङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
प्रशिक्षकमा दिवान्स श्रेष्ठ, व्यवस्थापकमा सिमोन उप्रेती र निर्णायकमा विन्दा नेपाली रहेका छन् । टोलीलाई नेपाल किक बक्सिङ संघका पदाधिकारीले सोमबारै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
सक्षम र आरभको जोडी विजयी
नेपालका सक्षमविक्रम शाह र अमेरिकाका आरभसम्राट हाडाको जोडीले जे ६० काठमाडौं जुनियर वल्र्ड ¥याङकिङ टेनिस प्रतियोगिताको सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा मंगलबार जित हात पारेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा सक्षम र आरभको जोडीले भारतका श्रृनिकेथ कानान् र अमेरिकाका कार्लोसलाई ७–५, ३–६ र १०–५ को सेटमा पराजित गरे ।
पुरुष सिंगल्समा मंगोलियाका उन्द्राखले नेपालका निहालजंगबहादुर थापालाई ६–३ र ६–३ ले हराए । पुरुष डबल्समा पनि निहाल र थाइल्यान्डका पार चन्द्राघोलिकाको जोडी चुके । महिला डबल्समा नेपालकी सुनिरा थापा र भारतकी सगुन कुमारी, नेपालकी आइशा डोल्कर गुरुङ र भारतकी पार्थ सारथी अरुण मुन्धे तथा नेपालका स्वस्तिा विष्ट र प्राज्ना मानन्धरको जोडी आ–आफ्नो प्रतिद्वन्द्वीसंग पराजित भए ।