
काठमाडौँ, २७ माघ । नेपाली होटल व्यवसायी सङ्घले दुबै मृगौला खराब भएका नरबहादुर खड्काथोकीलाई आर्थिक सहयोग गरेको छ ।
विगत ६ महिनादेखि दुबै मृगौला खराब भएका खड्काथोकीलाई शुक्रबार सङ्घले रु एक लाख एक हजार १११ सहयोग गरेको हो । सङ्घका अध्यक्ष गणेश ढकालले उक्त चेक खड्काथोकीलाई हस्तान्तरण गर्नुभयो ।
मृगौलापीडित खड्काथोकी नेपाली होटल व्यवसायी सङ्घका पूर्व कार्यसमिति सदस्यसमेत हुनुहुन्छ । कार्यक्रममा अध्यक्ष ढकालले नेपाली होटल व्यवसायी सङ्घको विकासमा खड्काथोकीले खेलेको भूमिका स्मरण गर्दै दुःखको बेलामा होटल व्यवसायीहरु सँगै छन् भन्ने सन्देश दिन उक्त रकम सहयोग गरिएको बताउनुभयो ।
“हामीले दिएको रकमले उपचारका लागि पर्याप्त रकम होइन, हामी सँगै छौँ, आगामी दिनमा पनि सहयोग गर्ने विश्वास व्यक्त गर्दछौँ,”– उहाँले भन्नुभयो । सङ्घका संरक्षक अमर दाहालले आत्मावल दह्रो बनाएर उभिए रोगबाट लड्न सकिने बताउनुभयो । उहाँले योगा र ध्यानमा समेत लाग्न विरामीलाई आग्रह गर्नुभयो ।
मृगौलापीडित खड्काथोकीले आफूलाई समस्या परेको बेलामा नेपाली होटल व्यवसायी सङ्घले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । उहाँले आफुलाई सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभएको थियो । पीडित खड्काथोकीलाई नेपाल एसविआई बैँकको नरबहादुर खड्काथोकीको नाममा रहेको २०११५२४१४०८१४३ मा सहयोग गर्न सकिनेछ ।


