राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले भारतको दिल्लीमा सम्पन्न तेस्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगिताका पदक विजेतालाई मंगलबार बधाइ दिएका छन् । सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षामा खेलाडीसहितको टोलीलाई स्वागत गर्नुका साथै सफलताका लागि बधाइ दिए ।
फेब्रुअरी ६ देखि ११ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ कांस्य गरी ४ पदक जितेको थियो । पुरुष ६० केजीमा पुकार श्रेष्ठले स्वर्ण तथा जुनियर ५७ केजीमा सुमितशरण तामाङ, सिनियर ५७ केजीमा रोशन अछामी र ८६ केजीमा साजन थिङ तामाङले कांस्य पदक जिते । प्रशिक्षकमा दिवान्स श्रेष्ठ, व्यवस्थापकमा सिमोन उप्रेती र निर्णायकमा विन्दा नेपाली रहेका छन् ।