
११ फागुन २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ
अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने विभिन्न संघ संस्थाहरू मध्ये नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ पनि एक हो । यस संस्थाले स्थापनाकाल देखि मेरुदण्ड पक्षघात भएर ह्विलचियर प्रयोग गर्दै आएका व्यक्तिहरूका लागि खेलकुदको माध्यमबाट उनीहरूको बौद्धिक, आर्थिक तथा सामाजिक विकासका लागि काम गर्दै आएको छ ।
यसै क्रममा यस नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले आज फागुन ११ गते एविलिज फाउण्डेशनको सहकार्यमा गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिहरू तथा सरकारी सरोकारवाला निकायहरू बिचमा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद र स्वास्थ्य सम्बन्धी नीति संवादका विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
यस कार्यक्रममा आयोजक संस्था नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघकी अध्यक्ष देवी आचार्यले यस संस्थाले मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरू प्रति सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन खेलकुद मार्फत काम गरेको भन्दै गोकर्णेश्वर नगरपालिका र त्यहाँका जनप्रतिनिधिहरू तथा स्थानीय निकायहरूको साथ र सहयोग मार्फत सन् २०२३ मा अन्तर्राष्ट्रिय ह्विलचियर बास्केटबल खेलकुदमा पनि सहभागी हुने अवसर पाएको बताउनु भयो । साथै उहाँले स्थानीय निकायबाट नै अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि खेलाडीहरूलाई तालिम उपलब्ध गराउनु पर्ने कुरामा ध्यानाकर्षण गराउनु भयो ।
यस छलफलमा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाले अन्य नगरपालिकामा भन्दा गोकर्णेश्वर नगरपालिकामा धेरै सङ्ख्यामा रहेको, उनीहरूका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न केही सहयोग रकम उपबन्ध गराइएको बताउनुभयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने क्रममा नगरपालिका वा वडा मध्ये ए स्थानीय निकायले कामको आधारमा बजेट विनियोजन गर्नु पर्ने, संस्थाले गरेको कामको जानकारी नगरपालिका तथा वडालाई जानकारी गराउनु पर्ने कुरामा जोड दिनु भयो ।
यस छलफल कार्यक्रममा आयोजक संस्था नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघका महासचिव दिलीप सापकोटाले गोकर्णेश्वर नगरपालिकाका प्रत्येक वडाहरूले आफ्नो वडामा रहेका पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउनु पर्ने कार्यको सुरुवात गर्न अनुरोध गर्नु भयो । साथै उहाँले यस संस्थाले खेलकुदको माध्यमबाट अपाङ्गताको क्षेत्रमा गर्दै आएको कार्यक्रमको विषयमा जनप्रतिनिधिहरूलाई जानकारी गराउने उद्देश्यले पनि यो नीति संवाद सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
यसै क्रममा आयोजक संस्थाका कोषाध्यक्ष सविन थापाले गोकर्णेश्वर नगरपालिका भित्र रहेका प्रत्येक वडाहरूले सहयोगी आवश्यक हुने अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सहितको सेवा उपलब्ध गराउने नीतिलाई कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।
यस महत्त्वपूर्ण छलफल कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामाले अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकार सुनिश्चित गर्न, खेलकुदको विकास गर्नका लागि राज्यले उपलब्ध गराउने सेवा सुविधा प्राप्त गर्नका लागि नीति निर्माणलाई पूर्ण रूपमा कार्यान्वयनका लागि सक्दो पहल गर्ने र वडामा रहेका पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने कार्यको सुरुवात गर्नका लागि सम्बन्धित व्यक्तिहरूसँग छलफल गरी अगाडी बढ्न प्रतिबद्धता व्यक्त गर्नु भयो ।
त्यसै गरी गोकर्णेश्वर नगरपालिकाका युवा तथा खेलकुद संयोजक सञ्जय लामाले यस नगरपालिका भित्र रहेका सबै अपाङ्गता भएका व्यक्तिहरू एक जुट भएर आवश्यक मुद्दामा वकालत तथा पैरवी गरेमा स्थानीय निकायको आवश्यक साथ सहयोग रहने बताउनु भयो ।


