त्रिवेणी र मनकामना विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ११ गते, शुक्रबार २०:४४

त्रिवेणी र मनकामनाले छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेका छन् ।
पिस प्वाइन्ट बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा त्रिवेणीले आयोजक पिस प्वाइन्ट ‘बी’ लाई ३–० गोलअन्तरले पराजित ग¥यो । उज्ज्वल थापा, दावा दोर्जे तामाङ र ‘म्यान अफ द म्याच’ सन्जित श्रेष्ठले गोल गरे ।
सानोगौचरण मैदानमा मनकामनाले जगत मन्दिरलाई ६–० गोलले सहजै हरायो । ‘म्यान अफ द म्याच’ कृष्ण मोक्तानले २ तथा मानव तामाङ, सुनिल मगर, फिरोज पौडेल र आशिष गडालले समान १–१ गोल गरे ।
प्रतियोगिताको अखिल नेपाल फुटबल संघका उपाध्यक्ष विराटजंग शाहीले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा आयोजकको २ सहित १६ टिम सहभागी छन् ।
विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वाड, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा ३६१ डिग्री र पेपे पिज्जा रहेका छन् । सह–प्रायोजकमा भाटभटेनी सुपर मार्केट, एस मिडिया, जेन्ट्स पार्क, क्रन्ची फ्राइड चिन, पेपर क्लाउड, केलोग्स, ललितपुर सिटी एफसीलगायत छन् । फाइनल फागुन १६ गते हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु