१७ फागुन, काठमाडौ । काठमाण्डौ स्पोर्ट क्लाइम्बिङ सेन्टरको आयोजनामा यही फागुन २६ गते मुसा मसला एण्ड वाङ्चुक पिक ओपन लिड क्लाइम्बिङ च्याम्पियनसिप २०२४ हुने भएको छ ।
आयोजकले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक दिने प्रतियोगिता कामनापा वडा नम्बर १६ कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा प्रतियोगिता हुने जानकारी गराएको हो ।
खुल्ला प्रतियोगिता भएकोले १४ वर्ष भन्दा माथिका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले यस प्रतियोगितामा भाग लिन पाउने काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरका प्रवन्ध निर्देशक प्रनिलमान श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता अन्तराष्ट्रिय महासंघ (आईएफएससी) द्वारा प्रतिपादित नियम र मापदण्ड अनुसार संचालन गरिनेछ । प्रतियोगितामा महिला तथा पुरुष गरी अनुमानित ५० जना खेलाडीहरु सहभागि हुने आयोजकले जनाएको छ ।
स्पोर्ट क्लाइम्बिङमा मुख्यगरी बोल्डरिङ, लिड र स्पीड गरी तीन विधा हुने भएपनि अन्तर्राष्ट्रिय नियम अनुसार नै यस पटक लिड प्रतियोगिता गर्न लागेको श्रेष्ठले जानकारी दिए ।
यस प्रतियोगिताको प्राविधिक सहयोगिको रुपमा नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ रहेकोछ । उनीहरुले प्रतियोगिता अवधिभर निर्णायक मण्डल तथा अन्य प्राविधिक पक्षलाई सम्हाल्ने छन् । प्रतियोगिता अवधिभर सुरक्षाको प्रत्याभुति हुने गरि, भैपरि आउन वा हुसक्ने जोखिम तथा दुर्घटनालाई मध्यनजर गरी सहभागी प्रतियोगीहरु तथा प्राविधिक व्यक्तिहरुको न्यूनतम अवधिसम्मलाई बिमाको व्यवस्था गरिनेछ ।
यस प्रतियोगिताको उद्देश्य भनेका यस खेल र यस खेलकुदमा आवद्ध हुने सम्पूर्ण खेलाडी, खेलकर्मी, प्राविधिक र अन्य पक्षहरुको मनोवल उच्च राखी अझ यस क्षेत्रको विकास प्रवर्द्धन गर्नुका साथै देशमा साहसिक खेल र पर्यटनको प्रचार प्रसार गरि राजश्वमा टेवा पुर्याउनु पनि रहेको प्रवन्ध निर्देशक श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको क्वालिफिकेसन राउण्ड बिहान ८ देखि १२ बजेसम्म हुनेछ । त्यसबाट महिला ८ र पुरुष ८ खेलाडी अन्तिम चरणमा छनोट हुनेछ । फाइनल चरणको खेल दिउँसो २ देखि ६ बजेसम्म हुनेछ ।
अन्तिम चरणपछि फाईनल राउण्डद्वारा महिला तथा पुरुष बाट समान रुपमा प्रथम, द्वितिय र तृतिय विजेताहरु घोषित गरिनेछ । विजेताले नगद २० हजार पाउनेछ भने दोस्रोले १० हजार र तेस्रवले ५ हजार पाउनेछ ।
यस प्रतियोगिताको मुख्य प्रायोजक संयुक्त रुपमा अमेरिकी गैर नाफामुलक संस्था मुसा मसला र नेपालस्थीत वाङ्चुक पिक प्रोमोसन रहेको छ । दुवै संस्थाले जिगत दुई तीन वर्ष देखि नेपालमा हुने हरेक स्पोर्ट क्लाइम्बिङ खेलकूद गतिविधिहरुमा सहकार्य गर्नका साथै उनीहरुले हरेक वर्ष आफै पनि प्रतियोगिता आयोजना गर्दै आईरहेका छन् ।
मुसा मसलाका नेपाल प्रतिनिधि लाक्पा शेर्पाले वाङ्चुक पिकले पनि हरेक वर्ष क्लाइम्बिङ प्रतियोगिता गर्दै आइरहेको र दुवै पक्षको उदेश्य मिलेकोले प्रायोजन गरेको जानकारी दिइन् ।
प्रतियोगिताको अन्य प्रायोजकहरुमा स्पोर्ट क्लाइम्बिङ्ग सेन्टरलाई प्रायोजन गर्दै आईरहेको ईटालियन ब्राण्ड स्कार्पा रहेको छ भने अन्य सह प्रायोजकहरुमा ब्ल्याक डायमण्ड, बीइएल, क्याजुअल एसजी, टक्यो पाउडर इन्डस्ट्रिज, इन्फिनिटी वेयर्स, बज्र फिटनेस, पाङ्ग्रो र पेरिपिङ्कल सर्भिस रहेका छन् । यस्तै कन्ट्रिबुसन प्रायोजकको रुपमा फ्रान्समा अवस्थित सुपर क्लाइम्बिङ, हस्पिटालिटी पार्टनरको रुपमा ल्यान्डमार्क होटेल एण्ड रिसोर्ट, मेडिकल पार्टनरको रुपमा स्टार हस्पिटल िर सेक्युरिटि पार्टनरको रुपमा भिजन सेकुरिटिज रहेको छ ।