पेप्सीकोलास्थित नेक्सस क्रिकेट एकेडेमीले यस वर्ष एसइइ दिने २०० जना क्रिकेट खेलाडीका लागि २० दिने निःशुल्क क्रिकेट क्याम्प आयोजना गर्ने भएको छ । ग्रासरूट क्रिकेट विकासमा कोषेढुङगा साबित एसइइ क्याम्पलाई निरन्तरता दिदै नेक्ससले एसइइ क्याम्पको पाँचौं संस्करण चैत २८ देखि बैशाख १८ गतेसम्म मूलपानी क्रिकेट रंगशाला र एकेडेमीको प्राङ्गणमा क्याम्प सञ्चालन गर्न लागेको नेक्सस क्रिकेट एकेडेमीले जनाएको छ । उक्त क्याम्पमा सहभागी हुन खेलाडीहरूले अनलाइन फारम भर्नु पर्ने छ । फारम भर्ने पहिलो २०० जनालाई क्याम्पमा सहभागी गराईने बताईएको छ ।
उक्त क्याम्पमा सहभागी खेलाडीलाई पाकिस्तानको पहिलो श्रेणीका खेलाडी रहिसकेका पाकिस्तान क्रिकेट बोर्डबाट लेभल १ गरेका प्रशिक्षक ईम्तिहाज हुसेन र बरिष्ठ नेपाली प्रशिक्षकले ट्रेनिङ दिने बताउदै हरेक खेलाडीलाई १० खेल खेल्ने अबसर प्रदान गर्ने कुरा नेक्ससका अध्यक्ष भरतकुमार शाहीले जानकारी गराए । एसइइ क्याम्प क्रिकेटका नव प्रतिभाको खोजी गरी नेपाली क्रिकेटलाई अब्बल खेलाडी सुम्पिने महत्वपूर्ण अभियान रहेको बताउदै शाहीले एसइइ क्याम्पबाटै नेपालको अन्डर नाईनटिन टिमका महत्वपूर्ण खेलाडी उत्तम थापा मगर र अन्डर सिक्सटिनका अशोक धामीलगायतका दर्जन खेलाडी जन्मिएको बताए । निःशुल्क सञ्चालन हुने एसइए क्याम्पलाई सफल पार्न सहयोग का लागि सरोकार वाला सबैमा नेक्सस क्रिकेट एकेडेमीले अनुरोध छ ।