काठमाडौं, फागुन २३ गते ।
दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटिसी) को संयोजकमा तेक्वान्दो मास्टर अमुल गोर्खाली नियुक्त भएका छन् । अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा गर्ने प्रतियोगिताको १४ औं संस्करण हुन लागेको हो । कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा सोलमा हुने सो प्रतियोगिता सन् २०२४ को अगस्ट महिनामा हुँदैछ ।
आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले बुधबार गोर्खाली आईओएफटिसीको बोर्ड सदस्यमा नियुक्त भएको र त्यसपछि उनलाई प्रतियोगिता संयोजकको जिम्मेवारी दिइएको जानकारीदिए । आईओएफटिसीका महासचिव केरेन ब्लाकलेजले गोर्खालीलाई बोर्ड सदस्य र प्रतियोगिता संयोजकको नियुक्ती पत्र प्रदान गरिन् ।
सो अवसरमा महासचिव ब्लाकलेजले गोर्खाली युवाहरुको संलग्नताले आईओएफटिसी च्याम्पियन्सिप अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरिन् । महासचिव ब्लाकलेजका अनुसार गोर्खालीकै संयोजकत्वमा सन् २०२२ मा मिसिगनमा भएको १३ औं आईओएफटिसी च्याम्पियन्सिपमा सफलतापूर्वक सम्पन्न भएकोले पनि उनलाई सोलमा हुने आईओएफटिसी च्याम्पियन्सिपका लागि विश्वास गरिएको हो । गोरर्खाली एभरेस्ट तेक्वान्दो मिचिगनका निर्देशक पनि हुन् ।
आईओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आईओएफटिसीको आप्mनो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ ।