काठमाडौं, फागुन २४ गते । भ्याली पब्लिक स्कुलको आयोजनामा तेश्रो भ्याली पब्लिक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा आयोजकको २ सहित १८ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने प्रशिक्षक कमल राईले जानकारी दिए ।
समूह ‘ए’ मा आयोजक ‘ए’, हिमालयन, प्रशान्ती, पुष्पलाल र सनराइज तथा समूह ‘बी’ मा वेदव्यास, कान्तिपुर, साम्तेन, भद्रकाली र ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) रहेका छन् । त्यस्तै अनिता मिलन, रिपु मर्दिनी, ओम, फेरिल्यान्ड र बाल विकास समूह ‘सी’ मा छन् भने आयोजक ‘बी’, श्रृष्टि ज्ञानभूमि र फ्युजन समूह ‘डि’ मा रहेका छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ६० हजार रुपैयाँ खर्च हुने भ्याली पब्लिका विद्यालय संयोजक प्रकाश सिग्देलले बताए । दुईदिने प्रतियोगिताका खेलहरु सुन्दरबस्तीस्थित आयोजकको नवनिर्मित हलमा हुनेछ ।