काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहको विशेष पहलमा अर्थमन्त्रालयसँगको निरन्तर छलफल र संवादपछि तत्काललाई दुग्ध विकास संस्थानलाई ३० करोड रकम निकासा हुने पक्का भएको छ ।
मन्त्री शाहको निरन्तर ताकेतापछि दुग्ध किसानको भुक्तानीको प्रक्रिया अघि बढाउन अर्थमन्त्री वर्षमान पुनले २ गते शुक्रवार मन्त्रालयका सचिव र उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
डिडीसीले किसानको भुक्तानी गर्न निकै अगाडिदेखि अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो । रकम अभावको कारण देखाउँदै अर्थ मन्त्रालयले भुक्तानी दिएको थिएन।
आफूले बिक्री गरेको दुधको भुक्तानी लामो समयदेखि नपाएको कारण किसान आन्दोलित थिए । केहि समय अगाडि सरोकारवाला सबैलाई राखी तत्कालीन मन्त्री बेदुराम भुसालले किसानको भुक्तानी छिट्टै गर्न सम्झौता गराएका थिए । अहिलेको यो निर्णयले डिडीसीलाई केहि राहत हुने र किसानको भुक्तानी हुने कुरा डिडिसीका महाप्रबन्धक सञ्जिब झाले बताए । सरकारकाे निर्णय अनुसार डिडिसीलाई राहत भए पनि निजि डेरी उद्योग अझै समस्यामा रहिरहने र निजिको लागी पनि केहि न केहि राहतको प्याकेज बनाउन नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल्ले सरकारलाई आग्रह गरेको बताए ।
यसरी प्राप्त रकमले किसानलाई थोरै भए पनि राहत पुग्ने कुरा केन्द्रिय दुग्ध सहकारी संघका महासचिव राम आचार्यले बताए। सरकारले गरेको सकारात्मक कदमको सरोकारवाला सबैले खुलेर प्रशंसा गरेको कुरा केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले बताए ।