तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २५ गते, आईतवार १४:४६

काठमाडौं बाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ। लेखक दर्लामीले आफ्नो उपन्यास ‘मारीखोलाको ढुंगो’ को कथा-कालमा जन्मिएकी इभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरेसँगै उपन्यास लोकार्पण गरिएको हो।

काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत काफ्लेलाई गरिएको पुस्तक हस्तान्तरण अबको युग नयाँ पुस्ता अर्थात् सशस्त्र द्वन्द्वकालमा जन्मे-हुर्केको पुस्ताको हो भन्ने प्रतीकात्मक संकेत गरिएको थियो।

नेपाल संकटकालमा हुँदा जन्मिएकी ईभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुंगो’ पढ्दाको आफ्नो अनुभूति विमोचन कार्यक्रममा सुनाएकी थिइन्। ‘समाजविज्ञानको विद्यार्थी भए पनि हामीले द्वन्द्वकालबारे कक्षाकोठामा पढ्नै पाएनौं, घरघरमा कथा सुनाउने चलन पनि अब छैन,’ पठन अनुभव सुनाउँदै इभाले भनिन्, ‘चिन्दै नचिनेको देश हामीले कसरी बनाउने? हामी कहाँबाट आयौं? अहिले कहाँ छौं? यस्ता प्रश्नको जवाफ मैले यो उपन्यासमा पाएँ।’

आमाबुवाको पढाइको सिलसिलामा बाल्यकाल देशबाहिर बिताएकी र स्वदेश फर्केपछि नेपाली बोल्दा शिक्षालयहरूमा कारबाही भोग्नुपर्ने समयमा हुर्केकी इभाले विमोचन कार्यक्रममा भनिन्, ‘नेपाली किताब पढ्नै सक्दिनँ जस्तो लाग्थ्यो, तर मलाई यो उपन्यासको मिठो भाषाले बोलायो, हात समातेर सँगसँगै डोर्‍यायो, हाम्रो देशको वास्तविक धड्कन सुनायो।’

दुई दिन पहिले मात्र आफ्नो पुस्तक विमोचनका लागि बुटवलबाट काठमाडौं आइपुगेका लेखक दर्लामीले पब्लिकेसन नेपालयको आरशालामा आफ्नो बाल्यकाल र लेखन यात्राको अनुभव बाँडे।

‘घर नजिक स्कुल नभएका कारण र आमालाई छोड्न नसक्ने आफ्नै भावुक स्वभावले गर्दा मैले स्कुल तह पनि पूरा गर्न सकिनँ,’ लेखक जेबी दर्लामीले भने, ‘पढ्ने बेलामा पढ्न नपाएको भोकले हुन सक्छ, मलाई शब्दसित गहिरो प्रेम छ।’

अहिले पनि टेलिफोन, बाटोघाटो, विद्युत् नपुगेको अर्घाखाँचीको सिलिङखोलामा जन्मेका लेखक दर्लामीले ‘मारीखोलाको ढुंगो’ उपन्यास लेख्दाको अनुभव बाँडे। ‘म जस्तो विकटमा बसेर लेख्नेको किताब कसले छाप्ला र भन्ने ठानेको थिएँ, तर म गलत ठहरिएँ,’ दर्लामीले भने, ‘मैले केही भोगेको, केही देखेको र केही महसुस गरेको समयलाई इमानदारीपूर्वक अक्षरमा उतारेको हुँ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु