उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूत हाशमीबीच शिष्टाचार भेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १ गते, शनिबार ०६:०४

काठमाडौ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालस्थित पाकिस्तानका महामहिम राजदूत अबरार एच हाशमीले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटघाटमा बधाई तथा शुभकामना आदान–प्रदानपछि द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहयोग, शैक्षिक तथा सांस्कृतिक सहयोग र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल भयो ।

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता निकट र सुमधुर सम्बन्ध रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ हामीले अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोग (जेईसी) र परराष्ट्र सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्र (बीसीएम) स्थापना गरेका छौं । यी संयन्त्रहरू मार्फत संवाद र सम्पर्क जारी राख्न आवश्यक छ ।’ उहाँले दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले सधैं हाम्रो सम्बन्धका सबै पक्षहरूमा गतिशीलता र गुणस्तर बढाएको समेत बताउनु भयो ।

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्नु पर्नेमा जोड दिनु भयो । ‘व्यापार, लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्धलगायत पारस्परिक सहयोगका धेरै क्षेत्रमा हाम्रा दुवै देशले मिलेर काम गर्न सक्छन्’ उहाँले भन्नुभयो, ‘नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र लाभदायक स्थान भएकाले विदेशी लगानीकर्तालाई सहजीकरण गर्न हामीले उद्योग विभागमा ‘वन स्टप सर्भिस सेन्टर’ स्थापना गरेका छौं ।’
उहाँले जलविद्युत, पर्यटन, पूर्वाधार, आईसीटी लगायतका क्षेत्रमा लगानी गर्न पाकिस्तानका लगानीकर्ताहरूलाई नेपालले स्वागत गर्ने बताउनु भयो । ‘सन्तुलित व्यापार र आर्थिक गतिविधिलाई थप विस्तार गरेर दुवै देशले लाभ लिन सक्छन्’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘नेपाली विद्यार्थीहरूलाई चिकित्सा, दन्त चिकित्सा, फार्मेसी र इन्जिनियरिङ अध्ययन गर्न पाकिस्तान प्राविधिक सहायता कार्यक्रम अन्तर्गत वार्षिक छात्रवृत्ति उपलब्ध गराएकोमा धन्यवाद दिँदै भविष्यमा नेपालका लागि छात्रवृत्ति सिटमा वृद्धि हुने अपेक्षा गर्दछु । ’

उहाँले नेपाल र पाकिस्तानले मे १९७० मा सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने, अन्तर–विश्वविद्यालय सम्बन्ध स्थापना गर्ने र रेडियो÷टेलिभिजनबीच सहकार्य गर्ने उद्देश्यका साथ एक सांस्कृतिक सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै ‘नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ’ काठमाडौंमा र ‘नेपाल मैत्री समूह’ इस्लामाबादमा सक्रिय रहेको बताउनु भयो । ‘नेपालले पाकिस्तानी पर्यटकहरूको लागि आकर्षक पर्यटकीय उत्पादन र सेवाहरू प्रदान गर्दछ’ उहाँले भन्नुभयो, ‘नेपालको प्राकृतिक, पुरातात्विक र सांस्कृतिक सम्पदाले धेरै संख्यामा पाकिस्तानी जनतालाई नेपाल भ्रमण गर्न आकर्षित गर्नेमा विश्वास व्यक्त गर्दछु । ’

उपराष्ट्रपति यादवले धेरै बिषयमा नेपाल र पाकिस्तानको समान दृष्टिकोण रहेको उल्लेख गर्दै भन्नुभयो, ‘हाम्रा चासोहरू बहुपक्षीय मञ्चहरूमा मिल्दाजुल्दा छन् । हाम्रा दुवै देशले संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन र सार्कलगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै आएका छन् ।’ उहाँले दक्षिण एसियाली जनताको शान्ति, समृद्धि र बृहत्तर हितका लागि ‘सार्क’ संगठन अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । ‘हाल रोकिएको सार्क प्रक्रियालाई पुनः सुचारु गर्न सार्कको वर्तमान अध्यक्षको हैसियतमा नेपालले हर सम्भव प्रयास गरिरहेको छ ’ उहाँले भन्नुभयो, ‘यस सन्दर्भमा सबै सदस्य राष्ट्रहरूको सहयोग अत्यावश्यक छ । नेपाल सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न चाहेको छ । ’

उपराष्ट्रपति यादवले दक्षिण एसियाको हिन्दु–कुश हिमालय क्षेत्रले विश्वव्यापी उष्णता र जलवायु परिवर्तनको प्रतिकूल प्रभावहरूको सामना गरिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । ‘हिमालयको हिउँ द्रुतगतिमा पग्लि रहेको छ । हामीले धेरै असामान्य मौसम प्रणालीहरूको सामना गरिरहेका छौं ’ उहाँले भन्नुभयो, ‘जलउत्पन्न प्रकोप, बाढी, डुबान र खडेरी दीर्घकालीन समस्या बनेका छन् । जलवायु परिवर्तनको प्रतिकूल प्रभावसँग लड्न हामीले मिलेर काम गर्नुपर्छ ।’
महामहिम राजदूत अबरार एच हाशमीले नेपाल र पाकिस्तानबीचको सम्बद्ध अत्यन्तै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझ उचाईमा दुई मुलुक मिलेर अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले नेपाल र पाकिस्तानबीच अबरुद्ध हवाई सेवा पुनः सुचारु गर्नुपर्नेमा जोड दिनुभयो । ‘नेपालयमा पर्यटन, व्यापार लगायतका क्षेत्रमा पाकिस्तान सहयोग गर्न तयार छ’ उहाँले भन्नुभयो, ‘नेपाली विद्यार्थीहरुका लागि छात्रवृत्ति कोटा बढाउने गृहकार्य भई रहेको छ । ’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु