
ह्याण्डिक्याप इन्टरनेशनल र युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाद्वारा सञ्चालित “अपाङ्गता समावेशी प्रारम्भिक बाल विकास तथा शिक्षा” परियोजना अन्तर्गत बाल विकास शिक्षकहरूका लागि आठ दिने प्रारम्भिक सिकाइ तथा बाल विकास मापदण्डमा आधारित तालिम कार्यक्रम अछाम जिल्लाको मङ्गलसेनमा शुरू भएको छ ।
विश्वव्यापी रूपमा विशेष आवश्यकता शिक्षा सम्बन्धी सालामान्का घोषणा, संयुक्त राष्ट्र संघिय अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि, लगायतका घोषणापत्र तथा महासन्धिहरूले “सबैका लागि शिक्षा”, “गुणस्तरीय र समावेशी शिक्षा” जस्ता बिषयहरू उठाएपछि सबै बालबालिकाहरूले एकै छानामुनि सिक्ने वातावरण सृजना गर्नु र मूल प्रवाहीकरणमा शिक्षा प्रदान गर्नु अनिवार्य सर्तको रूपमा रहेको छ । यसै सन्दर्भमा नेपाल को अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन–२०७५, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन–२०७४ तथा नेपालको संविधानले शिक्षालाई मौलिक नैसर्गिक अधिकारको रूपमा स्पष्ट पारिसकेको अवस्थामा कोही पनि शिक्षाको उज्यालोबाट वञ्चित हुनु हुँदैन भन्ने मान्यता अंङ्गिकार गरेको यस अपाङ्गता समावेशी प्रारम्भिक बाल विकास तथा शिक्षा कार्यक्रमले अपाङ्गता भएका लगायत अन्य सिमान्तकृत बालबालिकाहरूको शिक्षा प्राप्तिको अधिकारको विषयलाई प्रमुख लक्ष्य लिएको छ ।
नेपालमा विगतदेखि नै दृष्टिविहीन, बहिरा तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई स्रोत कक्षा मार्फत विशेष शिक्षा दिने व्यवस्था कायम छ, जसले विशेष आवश्यकता भएका बालबालिकाहरूलाई शिक्षाको अवसर प्रदान गर्नुको साथै राज्यका विभिन्न तहमा अपाङ्गता भएका नागरिकको पहुँच समेत वृद्धि भएको छ । यति हुँदाहुँदै पनि कतिपय अवस्थामा उनीहरूको अपेक्षित सिकाइ उपलब्धी नभएको विभिन्न अध्ययनले समेत औंल्याएको छ । यसको पछाडि पर्याप्त अन्य कारणका अतिरिक्त लामो समयसम्म सिमित स्रोत र सिकाइ प्रक्रियामा सबै प्रकारका सिकाइ आवश्यकता भएका बालवालिकाहरूको पहुँच नहुनु पनि हो । उपरोक्त तथ्यलाई मध्यनजर गरी प्रारम्भिक तहबाट नै समावेशी अवधारणा र चरित्रको विकास गर्दै मूल प्रवाहमा अन्य बालबालिकासँगै अपाङ्गता भएका बालबालिका समेतलाई सिकाइको वातावरण तयार गर्न यो कार्यक्रमले मुख्य तीनवटा रणनीतिमा काम गर्दै आएको छ । जसमा पहिलो हो शिक्षक सक्षमता दक्षता र सीप विकास जसअन्तर्गत सिकाइको समावेशी अवधारणा सिकाइ सम्बन्धी विश्वव्यापी ढाँचा (युडीएल) मा आधारित भई अतिरिक्त समय, थप पुनर्वल, सामग्रीको प्रयोगवाट एउटै रणनीति मार्फत सबै सिकाइ आवश्यकता भएका बालबालिकाहरूको सिकाइ सहजीकरण गर्न सक्ने बनाउनु हो । त्यसैगरी दोस्रोमा समावेशी शैक्षिक सामग्री निर्माणको सीप र कक्षाकोठामा समावेशी सामग्रीको प्रयोग गरि सिकाइ क्रियाकलाप सञ्चालन गर्न शिक्षकहरूलाई अभिप्रेरित तथा प्राविधिक सहयोग गर्ने, हो भने तेस्रोमा परिवार, समुदाय तथा संस्थाको जिम्मेवारी, भूमिका र उत्तरदायित्वका विषयमा सामुदायमा सचेतना अभिवृद्धि गर्नु हो ।
उपरोक्त उद्देश्यहरू अनुरूप मङ्गलसेन नगरपालिकाका ६० वटै प्रारम्भिक बाल विकासका शिक्षकहरूमा ज्ञान, सीप र दक्षता विकास गर्न प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित प्रारम्भिक बाल विकासका शिक्षकहरूको तालिम शुरू भएको छ । जसमा पहिलो चरणमा १८ बालविकास केन्द्रका १८ जना बाल विकासका शिक्षकहरूको सहभागिता रहेको छ ।
यस तालिमले प्रारम्भिक बाल विकास राष्ट्रिय मापदण्डको कार्यान्वयन, शारीरिक, सामाजिक, भाषिक, संवेगात्मक बौद्धिक र सृजनात्मक विकाससँग सम्बन्धित क्रियाकलापहरूलाई समावेशी बनाइ सवै वालवालिकाहरूको सिकाइ आवश्यकता पुरा हुने र नियमित बाल विकास कक्षा सञ्चालनमा सहजीकरण हुने अपेक्षा गरिएको ह्याण्डिक्याप इन्टरनेशनल नेपालका परियजना प्रबन्धक पदम महरले बताउँनु भयो ।
तालिमको अनुगमन गर्ने क्रममा मङ्गलसेन नगरपालिकाका उपप्रमुख संगिता कुमारी रावलले यो तालिम नगरपालिकाको पनि हो र सेतो गुराँसले सहिजकरण मात्र गरिराखेकोले शिक्षकहरूले यस तालिमबाट प्राप्त गरेको शिप बाल विकासमा प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो । सोहि क्रममाः मङ्गलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले जसरी घर बनाउँदा इन्जिनियरको साथसाथै किट्टी कुटने, गाह्रो लगाउँने लगायतका कर्मीहरूको महत्व हुन्छ, त्यसैगरि समग्र शिक्षामा प्रारम्भिक बाल विकास तथा शिक्षाको अत्यन्तै महत्व रहेको बताउनु भयो । यसैगरी उहाँले तालिमको अधिकतम फाइदा लिन सुझाव दिनुहुँदै बाल विकास शिक्षकले कक्षा कोठा उपयुक्त व्यवस्थापन नगरेको अवस्था पाइएमा नगरपालिका चुप लागेर नबस्ने र आवश्यक परेमा कारवाही गर्नेमा सचेत पार्नु भयो र वाल विकास केन्द्रहरूको विकासका लागि सबैको सहयोग तथा साथको लागि समेत आग्रह गर्नुभयो ।


