प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख ८ गते, शनिबार ०५:२३

बग्लुङ– कोशी प्रदेशकी कुसुम राजवंशी र सविना तामाङसहित चार खेलाडी पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा ढोरपाटन नगरपालिका–१ बुर्तिबाङको बसपार्कमा शुक्रबारदेखि शुरू भएको प्रतियोगिताको पहिलो दिन महिलातर्फ ५०–५७ केजी तौल समूहमा कोशीकी कुसुम राजवंशी र सविना तामाङ तथा विभागीय टोली त्रिभुवन आर्मीकी निकिता धामी र सविना सुनार सेमिफाइनलमा प्रवेश गरेका हुन्।

पहिलो खेलमा कोशीकी कुसुमले विभागीय टोली नेपाल पुलिस क्लबकी सुस्मिता थापालाई पराजित गरिन् । अर्को खेलमा आर्मीकी निकिताले गण्डकीकी रिया श्रेष्ठलाई पराजित गरिन्। दिनको तेस्रो खेलमा कोशीकी सविनाले लुम्बिनीकी बसन्तीकुमारी विकलाई पराजित गरिन् ।

चौथो तथा अन्तिम खेलमा आर्मीकी सविनाले बागमती प्रदेशकी रजनी रेग्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिन् ।

प्रोफेसनल फाइटमा महिलातर्फ ५०–५७ केजी तौलसमूह र पुरुषमा ५५–६२ केजी तौल समूहका खेलाडीले चुनौती दिन पाउनेछन् । यस प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेश र एक आयोजक गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक टोलीबाट समान दुई पुरुष र महिलाले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने संघका अध्यक्ष प्रतीक घर्तीमगरले जानकारी दिए । प्रतियोगितामा कुल ४४ खेलाडीले दुई स्वर्ण पदक, ट्रफी र नगद पुरस्कारका लागि प्रतिस्पर्धा गर्ने छन् । महिला र पुरुष दुवैतर्फ च्याम्पियनले ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पाउनेछन् ।

उक्त प्रतियोगिताको संघीय सांसद तथा पूर्वशिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उद्घाटन गरेका थिए । सो अवसरमा पौडेलले खेल क्षेत्रको विकास भएमा मात्र राष्ट्रको विकास हुने बताउँदै तीन वटै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए ।

‘म विदेशका धेरै ठाउँमा जाँदासमेत खेल क्षेत्रबाट धेरै प्रगति भइसकेको देखेको छु । नेपालमा पनि खेलकुदको सम्भावना प्रचुर रहेका छ । त्यसको व्यवस्थापनका निम्ति राज्यकै तीन वटै तहले कार्यक्रम अगाडि ल्याउनु पर्छ । म त्यसका निम्ति पहल गर्ने छु,’ उनले भने।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहेका ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धनबहादुर कायतले ढोरपाटन क्षेत्र खेलकुद क्षेत्रमा अगाडि रहेको बताए । खेलकुद स्वास्थ्य र राष्ट्रका लागि महत्त्वपूर्ण गहना भएका कारण नगरपालिकाले यस क्षेत्रमा पर्याप्त लगानी गरिरहेको उनले जानकारी दिए । ढोरपाटले मात्रै नभई खेलकुदमा तीन वटै तहले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

‘ खेलकुद क्षेत्रलाई राज्यले अवहेलना गरेका कारण खेलाडीमा लुकेर रहेको प्रतिभा प्रस्फुटनमा अवरोध भइरहेको छ। तीन वटै तहका सरकारले यसलाई प्राथमिकता दिनुपर्छ, ’ उनले भने। कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, महासंघ केन्द्रीय उपाध्यक्ष तथा रेफ्री प्रमुख राजमन्दिर श्रेष्ठलगायत केन्द्रीय र प्रदेश समितिका पदाधिकारीको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु