काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा एनआरएनए अभियन्ता डीबी क्षेत्री मनोनीत भएका छन । पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी) को वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो । प्रवासमा रहेर उनले पार्टीका लागि खेलेको भूमिकालाई उच्च मूल्यांकन गर्दै केन्द्रीय सदस्यमा मनोनीत गरिएको महासचिव देव गुरुङले जानकारी दिए ।
यसबारेमा पार्टीले मातहतका कमिटीलाई सर्कुलर नै पठाएर जानकारी गराइसकेको छ । ओमानलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका क्षेत्री प्रवासमा पार्टीको संगठन विस्तारमा सक्रिय हुँदै आएका छन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेता समेत रहेका उनी मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हकहितका लागि सक्रिय रहँदै आएका छन ।
उनले श्रमिकको पक्षमा काम गर्नका लागि विगतमा हजारे अभियान समेत सञ्चालन गरेका थिए । उनी मध्यपुर्वमा रहेका श्रमिकहरुबिच लोकप्रिय ब्यक्ति रहेका थिए ।
श्रमिकहरुका बिच लोकप्रिय ब्यक्ति क्षेत्रीलाई केन्द्रीय सदस्य बनाएपछि माओवादीको प्रवासमा रहेका नेपालीहरुमा लोकप्रियता बढेको छ ।
यस्तै माओवादी केन्द्रले दुई नेतालाई भने जिम्मेवारीबाट हटाएको छ । केन्द्रीय सदस्यको भूमिकामा रहेका राम कुमार शर्मा र इन्दु कुमारी शर्मालाई जिम्मेवारीबाट हटाइएको हो । उनीहरुले केही समयअघि पार्टी परित्यागको घोषणा गरेका थिए । ‘ पूर्ण केन्द्रीय सदस्य राम कुमार शर्मा र इन्दु कुमारी शर्माले पार्टी परित्याग गरेको हुनाले उहाँहरु दुवै जनालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइएको छ’, गुरुङले भने ।
यस्तै पार्टीका केन्द्रीय सदस्य ओमनाथ ढुंगाना (ओम शर्मा)को जिम्मेवारी हेरफेर भएको छ । हाल प्रदेश समन्वय समितिका अध्यक्ष रहेका शर्मालाई पार्टीले एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्जको जिम्मेवारी दिएको हो । केहीअघि सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले प्रदेश समन्वय समितिलाई समग्र तीन प्रदेशमा विभाजन गर्ने निर्णयअनुसार पार्टीले शर्मालाई एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्जको जिम्मेवारी दिएको हो ।
शर्माले प्रवास समन्वय समितिको नेतृत्वमा हुँदा प्रवासमा संगठन विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । एसिया समन्वय प्रदेश समितिको इन्चर्ज भने उपाध्यक्ष पम्फा भुसाल रहेकी छन ।