
काठमाडौं । नेपालमा हरेक वर्ष अङ्ग्रेजी महिना जुन १ लाई विश्व दुध दिवस रूपमा मनाउने गरिन्छ ।
२४ औँ विश्व दुध दिवस उपलक्ष्यमा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशले आज (शनिबार) “हाम्रो बाल संरक्षण धरोहर नेपाल आश्रममा आश्रय लिईरहेका बालबालिकालाई दुध तथा दुधजन्य परिकारहरूको भोजन गराएका हुन् ।

सो अवसरमा बोल्दै नेपाल डेरी एसोसिएसनका बागमती प्रदेशका उपाध्यक्ष धुर्ब तिवारीले दुग्ध उत्पादक किसान जहिले पनि राज्यबाट अपहेलित भएको भन्दै उनले सामाजिक कार्यमा पनि समाजले सदैव हातेमालो गर्दै आएको बताए । जन्म देखि मृत्यु सम्म दूध अत्यावश्यक पोषिलो पदार्थ भएकोले आश्रित बालबालिकाहरुलाई भोजन वितरण गरिएको बताउनुभयो ।

एसोसिएसनका सचिव श्याम कुमार घिमिरेले दीन दुःखी तथा असहाय बालबालिकालाई र आश्रमको दैनिकीलाई सहज होस भन्ने हेतुले उनीहरुलाई भोजन वितरण गरी अन्तर्राष्ट्रिय दूध दिवस मनाईएको बताए ।

कार्यक्रममा नुवाकोट काठमाडौ सम्पर्क समितीका अध्यक्ष देवराज बजगाई, नुवाकोटका अध्यक्ष दिपक ढुगाना सदस्य प्रकाश मुडभरी ,राम प्रसाद खतिवडा ,सुजन अधिकारी लगाएतको उपस्थिति रहेको थियोे ।
आश्रमकी सञ्चालिका बिनीता अर्यालले विभिन्न दाता तथा संस्थाबाट आश्रम चलाउन सहयोग पुगेको भन्दै यो सहयोगले आश्रम सञ्चालनमा टेवा पुगेको बताइन । आगामी दिनमा समेत यस्ता कार्यक्रमको अपेक्षा रहेको भन्दै उनले नेपाल डेरी एसोसिएसन बागमती प्रदेशले गरेको सहयोगको प्रशंसा गरिन ।


