नेपाल महिला फुटबल संघको पहलमा क्यान्सर पीडित पूर्व फुटबल खेलाडी गंगा गुरुङलाई स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ ।
महिला फुटबल संघका पदाधिकारी, खेल पत्रकार, शिक्षक र विदेशमा रहेका नेपालीबाट संकलित १ लाख ५ हजार रुपैयाँ जमुनालाई हस्तान्तरण गरिएको महिला फुटबल संघकी महासचिव विना श्रेष्ठले जानकारी गराइन् । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालबाट पहिलो गोल गर्ने पूर्व कप्तान तथा महिला फुटबल संघकी अध्यक्ष पेम्बा डोल्मा लामाले जमुनालाई नगद हस्तान्तरण गरिन् ।
अध्यक्ष लामाले रकम हस्तान्तरणपछि गंगाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी सबैलाई धन्यवाद दिइन् ।
सो अवसरमा फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, नेपालबाट छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो खेलाडी तेक्वान्दोकी संगीना वैद्य, पूर्व कप्तानद्वय जमुना गुरुङ र चन्द्रा भण्डारीको पनि उपस्थिति रहेको थियो । गंगाले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहेकी छन् ।