ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारको दोस्रो साता कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने भएको । ई स्पोर्ट्स संघ नेपालको आयोजनामा ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असार १४ र १५ गते सुर्खेतमा आयोजना हुने भएको हो ।
संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिपमा पब्जी मोबाईल, मोबाईल लिजेण्ड्स र ई फुटबल गरि तीन विधाका खेललाई समावेश गरिएको छ । पब्जी मोबाईलको छनोट अनलाईनमार्फत हुने र अन्तिम १६को फाइनल राउण्ड भौतिक रुपमा गरिने जानकारी दिईएको छ । मोबाईल लिजेण्डका सम्पुर्ण खेल अनलाईन र ई फुटबलको प्रारम्भिक छनोट अनलाईन र सेमिफाइनल र फाइनल प्रतिस्पर्धा भौतिक रुपमा सञ्चालन गरिने बताईएको छ ।
संघका अध्यक्ष अन्जन धमलाले नेपालमा बढ्दो लोकप्रियता, अन्तराष्ट्रिय सम्भावना र लगानीको प्रतिफलका हिसाबले तीन खेललाई प्राथमिकतामा राखेर राष्ट्रिय च्याम्पियनसिपमा समावेश गरिएको जानकारी दिए ।
प्रतियोगिताको प्राईज पुल १२ लाख रुपैयाँ रहेको छ । प्राईज पुलको ७० प्रतिशत पुरस्कार पब्जी मोबाईलमा, २० प्रतिशत पुरस्कार एमएलबीबी र १० प्रतिशत पुरस्कार ई फुटबलमा बाँडिनेछ । तीन वटै खेल विधाका विजेताले आसन्न एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको नेपाल छनोटको फाइनल चरणमा स्थान सुरक्षित गर्ने बताईएको छ ।
टिम दर्ता शुक्रबारबाटै खुल्ला गरिएको छ भने प्रतियोगितामा प्रदेश र क्लब गरि तीन सय बढी टिमले छनोट चरणबाट भाग लिने संघले जनाएको छ । संघको वेव साईटमा गएर टिम दर्ता गर्न सकिने र भौतिक रुपमा समेत टिम दर्ताको सुविधा राखिएको संघका सचिव आशिष दाहालले बताए ।
अनलाईन छनोट असार ४ देखि १० गतेसम्म र भौतिक रुपमा अन्तिम चरणका खेल असार १४ र १५ गते सुर्खेतमा हुनेछ । प्रतियोगितामा १६ वर्षमाथिका खेलाडीले मात्र सहभागीता जनाउन पाउनेछन् ।
संघका अध्यक्ष अन्जन धमलाले आधुनिक खेल विधाको रुपमा अन्तराष्ट्रिय रुपमा उदाएको ई स्पोर्ट्सलाई विश्व जगतमा प्रतिस्पर्धात्मक खेलको रुपमा विकास गर्ने लक्ष्य सहित आफुहरु अघि बढेको जानकारी गराएका थिए ।