अस्ट्रेलियामा न्यूक्यासल नेप्लिज क्रिकेट टिमले नेपाली बालबालिकालाई क्रिकेट सिकाउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते, सोमबार ०५:४४

२७ जेठ, काठमाडौं । अस्ट्रेलियाको न्यूक्यासलमा नेपालीहरूले क्रिकेटमार्फत खेलप्रेमी समुदाय विस्तार गर्ने र त्यहाँ रहेका नेपाली मूलका बालबालिकाहरूलाई क्रिकेट प्रशिक्षण गराउने भएका छन् । न्यूक्यासल नेप्लिज क्रिकेट टिमले गाला डिनर आयोजना गरी उक्त कार्यक्रम घोषणा गरेको हो ।
नेपाली समुदायमा खेल प्रेम विकास गर्ने र खेलिरहेका खेलाडीहरूलाई संस्थागत रूपमा एकजुट बनाउने उद्देश्यले स्थापित न्यूक्यासल नेप्लिज क्रिकेट टिम विगत तीन वर्षदेखि सक्रिय छ । समूहले न्यूक्यासल डिस्ट्रिक्ट अन्तर्गत लगातार तीन पटक सेमिफाइनल समेत खेलिसकेको छ ।
उक्त समूहले आयोजना गरेको गाला डिनरमा सक्रिय खेलाडी तथा समूहलाई विभिन्न शीर्षकअन्तर्गत प्रायोजन गर्दै आएका संस्था र व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । ‘उहाँहरू प्रतिको सद्भाव र सम्मान त सधैँ छँदै छ । यस औपचारिक कार्यक्रम राख्नुको एउटै अर्थ ‘हामी सबै सधैँ सँगै छौँ’ भन्ने सन्देश प्रवाह गर्नु हो,’ कार्यक्रम संयोजक सजल बस्नेतले भने ।
कार्यक्रममा विभिन्न सरोकारवाला पक्षहरूमार्फत समूहलाई कसरी अझै सशक्त ढङ्गमा अघि बढाउन सकिन्छ भन्नेबारे छलफल समेत भएको थियो ।
‘हामी हाम्रा गतिविधिहरूलाई खेलकुदमा सीमित राख्न चाहँदैनौँ । हामी सामाजिक, सांस्कृतिक प्रवर्द्धनका लागि कार्यक्रमहरू आयोजना गर्न चाहन्छौँ । हाम्रा साना भाइबहिनीहरूलाई क्रिकेट खेल प्रशिक्षण गराउने, नेपाली समुदायमा मानसिक स्वास्थ्यबारे जनचेतना कार्यक्रम सञ्चालन गर्ने योजनामा छौँ,’ बस्नेतले भने ।
कार्यक्रममा गायिका समीक्षा अधिकारीले साङ्गीतिक प्रस्तुति दिएकी थिइन् । साथै अन्य सहभागीले नेपालको संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।
समूहको टाइटल स्पोन्सर टुवेल्स ग्रेन क्यापिटलका सञ्चालक बालकुमार गौतमले समूहको उद्देश्य प्राप्तिमा आड पु¥याउने भन्दै सात हजार अस्ट्रेलियन डलर सहयोग हस्तान्तरण गरे । साथै न्यूक्यासल क्षेत्रमा रहेर व्यापार व्यवसाय गर्दै आएका विभिन्न नेपालीले आफ्नोतर्फबाट क्लबको उत्थान र क्लबले उठाएको विषयहरू प्रवर्द्धनका लागि तयार रहेको जानकारी दिए ।
साथै कार्यक्रममा प्रमुख अतिथि एनआरएनएका अध्यक्ष अनिल पोखरेलले आफूहरू नेपाली समुदायको यस प्रयत्नमा आवश्यक साथ तथा सहयोग प्रदान गर्न तत्पर रहेको बताए । उनले भने,‘के कसरी यस क्लबमा योगदान गर्न सकिन्छ बुझ्यौँ । अब हरेक तवरबाट सकेको सहयोग गर्ने विश्वास दिलाउँछु ।’
कार्यक्रममा न्यूक्यासल नेप्लिज क्रिकेट टिमका क्याप्टेन रूपक सापकोटाले समूहलाई हौसला, साथ तथा सहयोग प्रदान गर्न उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आफूहरूको सक्रियता र निरन्तरताको प्रतिबद्धता जनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु