३१ जेठ २०८१ शर्मिला विश्वकर्मा, काठमाडौँ
नेपालमा दैनिक रूपमा मासु तथा अण्डाहरूको उपभोग गर्नेको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । ती मासु तथा अण्डाहरू उपभोगको लागि प्रयोग गरिने पशुपक्षी तथा जनावरहरूलाई ढुवानी गर्दा ज्यादै क्रूरता पूर्वक यातना दिएर गरिएको देखिन्छ । जस्तै राँगा, भैँसी, खसी, बोकाहरू ट्रकमा ल्याउँदा धेरैलाई एकै ठाउँमा कोचाकोच गरेर राखिएको, नाक, पुच्छरमा डोरीले बाँधिएको, एक आपसमा वा सवारी साधनमा ठोक्किएर चोटपटक लागेर घाइते भएको, उनीहरूको शरीरबाट रगत बगेको हृदय विदारक दृश्यहरू देखिन्छन् । कुखुराहरू ढुवानी गर्दा पनि सवारी साधनको क्षमता भन्दा बढी राखिने, मोटरसाइकल तथा साइकलमा लैजाँदा पनि खुट्टामा बाधे, भुईँतिर टाउको झुन्डाएर लिएर हिँडेका धेरै उदाहरणहरू देख्न सकिन्छ । त्यसैले जनावर तथा पशुपक्षीहरूले पनि सहज रूपमा यातना विना, पीडा विना बाच्न पाउनु पर्छ भनेर एनिमल नेपालले सन् २००९ देखि पशुकल्याणका लागि काम गर्दै आएको छ ।
जनावर तथा पशुपक्षीहरूको अधिकार स्थापना गरी उनीहरूको जीवन सहज बनाउनको लागि काम गर्ने क्रममा यही जेठ ३० गते यस संस्थाले पशुपक्षीहरूको कल्याण सुनिश्चितताका विषयमा सञ्चारकर्मीहरूसँग एक अन्तरक्रिया गरेको छ ।
यस कार्यक्रममा आयोजक संस्था एनिमल नेपालका कार्यक्रम प्रमुख सुरक्षणा राणाले असार १ गतेका दिन पर्न गएको International working Animals day and Ban live exports international Awareness 2024 दिवसलाई लक्षित गर्दै पशुपक्षीहरूको कल्याण सुनिश्चितताका लागि सञ्चारकर्मीहरूसँग छलफल गरिएको भन्दै उहाँले एनिमल नेपालले जनावर तथा पशुपक्षीहरूको अधिकारका लागि सम्बन्धित निकायमा वकालत तथा पैरवी गर्दै आएको, ढुवानी गर्दा जनावरहरूले यातना पाउने गरेको हृदय विदारक दृश्यहरू देखिने त्यस्तो समस्या समाधानका लागि काम गर्दै आएको कुरामा जोड दिनु भयो ।
कार्यक्रम प्रमुख राणाले नेपाल सरकारले पशु सेवा ऐन २०५५, त्यसको नियमावली २०५६ र पशु ढुवानी मापदण्ड २०६४ ल्याएको, त्यसमा पशुपक्षी तथा जनावरहरूको बाँच्ने अधिकारका सवालमा विभिन्न व्यवस्थाहरू गरिएको भए पनि ती व्यवस्थाहरू पूर्ण रूपमा कार्यान्वयन नभएको गुनासो
गर्नु भयो । त्यसैले यस संस्थाले ढुवानी मापदण्ड कार्यान्वयन गर्नका लागि सरकार र पशुपक्षी तथा जनावर ढुवानी गरिने सवारी साधनका मालिक अर्थात् ट्रक साहुहरूसँग पनि छलफल गरी वकालत तथा पैरवी गरिएको र यस्तै पैरवी र वकालतले बारा जिल्लामा जनावरहरूका लागि आरामदायी स्थानको निर्माण हुन लागेको, ढुवानीका क्रममा ट्रक भित्र यी जनावरहरूलाई चोटपटक नलागोस् भन्नाका लागि फाइबर फम राख्ने योजना रहेको पनि बताउनु भयो ।
सो छलफलमा आयोजक संस्था एनिमल नेपालकी फिल्ड सुपर भाइजर लक्ष्मी खत्रीले पशुपक्षी तथा जनावरहरू ढुवानीका क्रममा ज्यादै दर्दनाक अवस्थाहरू देखिने भन्दै यस्तो अवस्थामा उनीहरूको प्राथमिक उपचारहरूको लागि पनि काम गरेको र कति पय अवस्थामा धेरै नै घाइते भएका पशुहरूलाई किनेर भए पनि औषधी उपचार गरेर उधार गरिएको बताउनु भयो । साथै पशुपक्षी तथा जनावरहरू मासुका लागि किनबेच हुँदै गर्दा उपभोक्ताले कस्तो मासु प्रयोग गर्ने विषयमा पनि विचार गर्नु पर्ने र ढुवानीका क्रममा उनीहरूलाई यातना दिन नहुने भन्दै एनिमल नेपालले काम गर्दै आएको र यस कार्यलाई सफल बनाउन, पशुकल्याणका लागि, उनीहरू प्रतिको हिंसा हटाउनका लागि नेपाल सरकार, सरोकारवाला निकायहरू तथा सञ्चारकर्मीहरूको साथ सहयोग हुन जरुरी रहेको बताउनु भयो ।
नेपाल सरकारले पशु सेवा ऐन २०५५, त्यसको नियमावली २०५६ र पशु ढुवानी मापदण्ड २०६४ का अनुसार प्रत्येक पशुपक्षी ढुवानी गरिने सवारी साधनमा प्राथमिक बाकस हुनु पर्ने, शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै सवारी साधनमा गर्न नहुने, पशु ढुवानी गर्दा सबैको मुख चालक तर्फ फर्काइनु पर्ने, नाक र पुच्छरमा डोरी बाँध्न नहुने, ती जनावरहरूले टेक्ने भुईँमा ६ इन्च बाक्लो भुस, पराल वा सोतर राखिनु पर्ने लगायतका सवालमा एनिमल नेपालले वकालत तथा पैरवी गर्दै आएको आयोजक संस्थाले बताएको छ ।