काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनी मन्त्री नहुँदादेखि नै समस्याको रुपमा रहेको सहकारीको विषयमा अध्ययन गरिरहेको भन्दै उनले तत्काल समाधानको लागि पहल गर्ने पटक पटक दोहोर्याउँदै आएका छन् । उनले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पुगेको छ । उनले सहकारीले कहिलेकाहीँ बैंकको भन्दा बढी कारोबार गरेकाले पनि समस्या आएको बताएका छन् । उनले आफ्नो मन्त्रालय मातहत रहेको मालपोत, नापीजस्ता कार्यालयमा पुगेर बेलाबेला छड्के पनि हानेका छन् ।
कपिलवस्तु–१ बाट निर्वाचित नेकपा एमालेका नेता अधिकारी पहिलोपटक मन्त्री भएका हुन् । उनले जनताको काम नै आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै आएका छन् । उनले २०७९ को निर्वाचनमा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का नेता चक्रपाणि खनाललगायतलाई हराएका हुन् । उनले आफ्नो कार्यकालमा जनताले अनुभुति गर्ने गरी काम गर्ने वाचा गरेका छन् । मन्त्रालयले केही राम्रा काम गरिरहेकाले छोटो समयमा नै सकारात्मक उपलब्धि भएको उनको भनाई छ । आफ्नो र मन्त्रालयको कामबाट प्रधानमन्त्री पनि सन्तुष्ट रहेको भन्दै उनले कसैले पनि गुनासो नगर्ने गरी काम गर्ने बताएका छन् । छोटो समयमा नै मन्त्री फेरबदल गर्दा कामले गति लिन नसक्ने भन्दै उनले मन्त्रालयले गर्नुपर्ने कामबारे सुझाव पनि मागेका छन् ।
२०७० सालको संविधानसभाको निर्वाचनमा पनि निर्वाचित उनी लोकप्रिय नेताका रुपमा चिनिन्छन् । लामो समयदेखि राजनीति गर्दै आएका उनले राजनीतिलाई पेशाभन्दा पनि सेवा गर्ने साधनको रुपमा लिएका छन् ।