काठमाडौँ, १० असार । काठमाडौँको उत्तरी भेगमा सञ्चालित स्कुल तथा कलेजको शैक्षिक मेला–२०८१ सम्पन्न भएको छ ।
स्काई भिजन फाउण्डेशनको संयोजन तथा उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियशन (एनप्याब्सन)को आयोजनामा काठमाडौँको टोखामा शैक्षिक मेला–२०८१ सम्पन्न भएको हो ।
उक्त मेलाको पूर्व शिक्षामन्त्री एवम् प्रतिनिधीसभा सदस्य शिशिर खनालले शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पूर्व शिक्षामन्त्री खनालले नेपालको सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सरकार लाग्नुपर्ने बताउनुभयो । “सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सकेमात्र मुलुकको शिक्षा क्षेत्रले फड्को मार्न सक्छ,”– उहाँले भन्नुभयो ।
उहाँले विद्यार्थीलाई आफ्नो रुचीअनुसारको विषय छनोट गर्न आग्रह समेत गर्नुभयो । देशभित्रै गुणस्तरीय शिक्षा लिएर उद्यमशील बन्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान)का केन्द्रीय अध्यक्ष रमेश सिलवालले यस्ता किसिमको मेलाले विद्यार्थीलाई आफ्नो रुचीअनुसार अध्ययन गर्नका लागि सहयोग पु¥याउने बताउनुभयो । “विद्यार्थीको जीवनलाई कुन दिशातर्फ डोहो¥याउने भन्ने कुरा कक्षा ११ र १२ को पढाईमा भर पर्ने भएकाले आफ्नो रुचीअनुसार विद्यार्थीले अध्ययन गर्नुपर्छ,”– उहाँले भन्नुभयो ।
कार्यक्रममा स्काई भिजन फाउण्डेशनका सञ्चालक सुनिल भट्टराईले काठमाडौँको उत्तरी क्षेत्रको शैक्षिक उन्नयनका लागि मेला आयोजना गरिएको बताउनुभयो ।
हिसानका केन्द्रीय सचिव राजेन्द्र अधिकारी, प्याब्सन केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, हिसान बागमती प्रदेश सचिव आनन्द यादव, हिसान टोखाका अध्यक्ष राजन अधिकारीलगायतले काठमाडौँको उत्तरी क्षेत्र आफैँमा गुणस्तरीय शिक्षा दिन अब्बल रहेकाले टाढाका कलेजमा गएर अध्ययन गर्न आवश्यक नरहेको बताउनुभएको थियो ।
मेलामा काठमाडौँका उत्तरी क्षेत्रका दुई दर्जन कलेजको सहभागीता रहेको थियो । पाँच हजार बढी विद्यार्थीले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ ।