१४ असार २०८१ शर्मिला विश्वकर्मा, काठमाडौँ
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरूलाई दुई दिने पहुँचयुक्त प्रविधि सम्बन्धी तालिम प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संघ संस्थाका प्रतिनिधिहरूलाई पहुँचयुक्त ढाँचामा सामाग्री तयारी सम्बन्धी उक्त दुई दिने क्षमता विकास तालिममा सातै प्रदेशका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व रहेको थियो ।
असार १३ र १४ गते काठमाडौँमा आयोजना गरिएको सो दुई दिने तालिममा आयोजक संस्था राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराईले सबैलाई स्वागत गर्नु भएको थियो । साथै उक्त तालिममा उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई प्रविधिमा पहुँच पुगोस् भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको भन्दै वेब कन्टेन्ट पहुँचयुक्तता निर्देशिकाका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष एवं एविलिज फाउन्डेसनका राष्ट्रिय संयोजक डा. विरेन्द्रराज पोखरेलले डिजिटल पहुँचयुक्तताको परिचय र महत्वको बारेमा प्रस्ट पार्नु भएको थियो । यसै क्रममा उहाँले सबैलाई अनुकूल हुने संरचना हुनु पर्ने, पहुँचयुक्त संरचना तथा प्रविधि नभएमा दैनिकी कार्यहरू सम्पन्न गर्न समेत कठिन हुने हुँदा पहुँचयुक्त प्रविधिमा सबै जानकार हुन जरुरी रहेको बताउनु भयो ।
उक्त दुई दिने पहुँचयुक्त प्रविधि सम्बन्धी तालिममा Diverse Patterns का निर्देशक सागर प्रसाईँले माइक्रोसफ्ट वर्ड, एक्सल र पावरपोइन्टमा पहुँचयुक्त डकुमेन्ट बनाउने तरिकाका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । यसमा उहाँले डिजिटल पहुँचयुक्त प्रक्रिया, सहायक प्रविधि, All Text, Hyper Link, डिजिटल पहुँचका मुख्य सीपहरू लगायतका विषयमा जानकारी दिँदै प्रयोगात्मक अभ्यास पनि गराउनु भएको थियो ।
त्यसै गरी अपाङ्गता अधिकारकर्मी कृतन श्रेष्ठ दुवालले सामाजिक सञ्जालमा फोटो वा अन्य सामाग्रीहरू राख्दा कसरी पहुँचयुक्त ढाँचामा राख्ने र डिजिटल सुरक्षा सम्बन्धी जानकारी गराउँदै अभ्यास पनि गराउनु भयो ।
यस तालिममा सुनाई सम्बन्धी अपाङ्गता भएका व्यक्ति विश्वामित्र भित्रकोटीले बहिरा र श्रवणदृष्टिविहीन मैत्री सञ्चार र विधिबारे, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कार्यक्रम अधिकृत सुवास ज्ञवालीले Artificial Intelligence (AI ) को महत्त्व र प्रयोगको विषयमा प्रस्तुतीकरण गर्नु भयो भने र पूर्ण दृष्टिविहीन युवा कुशल न्यौपानेले कार्यक्रमको सहजिकरण गर्दै सहभागीहरूले तयार गरेको पहुँचयुक्त डकुमेन्टको परीक्षण र पृष्ठपोषण गर्नु भएको थियो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संघ संस्थाका प्रतिनिधिहरूलाई पहुँचयुक्त ढाँचामा सामग्री तयारी सम्बन्धी उक्त दुई दिने क्षमता विकास तथा पहुँचयुक्त प्रविधि तालिममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले प्रविधिको विकास तीव्र गतिमा भए पनि त्यहाँ सम्म सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको पहुँच पुग्न नसकेको भन्दै प्रविधिमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचका विषयमा जानकार दिने उद्देश्यले यस दुई दिने तालिमको आयोजना गरिएको बताउनु भयो । साथै उहाँले सबै सहभागीहरूलाई यस तालिमको उपयोग गर्नको लागि आग्रह गर्दै ज्ञान, सीप र अभ्यासलाई प्रयोगमा ल्याउन पनि आग्रह गर्नु भयो ।
यस तालिममा सहभागी न्यून दृष्टियुक्त महिला सुप्रभा अर्यालले यस पहुँचयुक्त तालिम ज्यादै प्रभावकारी भएको भन्दै यस्ता तालिमहरू फिजिकल नभएर डिजिटल बनाइनु पर्ने, यस्ता तालिमहरू ग्रामीण क्षेत्रमा रहेका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई पनि प्रदान गरिनु आवश्यक रहेको कुरामा जोड दिनु भयो । साथै कोसी प्रदेशबाट सहभागी हुनु भएको शारीरिक अपाङ्गता भएकी महिला आकृति रानी फुँइयालले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त प्रविधिका यस्ता तालिम सञ्चालन गर्नु पर्ने र यस्ता कार्यक्रमहरूलाई प्रदेश, नगर तथा वडाहरूमा पनि सञ्चालन गरिनु पर्ने माग राख्नु भयो ।