डायस्पोरा, पुँजीवाद , सर्वहारा साहित्य र आजीवन सभापति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १९ गते, बुधबार १६:४०

शम्भु गजुरेल- बेलकोटगढी ९ नुवाकोट

डायस्पोरा साहित्यलाई आफ्नो सुविधा अनुसार प्रयोग गर्ने साहित्यकारहरूले डायस्पोराको सामान्य सिद्धान्त पनि मिचेका हुन्छन् । तत्कालीन मुग्लान , लाहोर , बर्मा, भोटाङ गएका नेपाली भाषीको डायस्पोरिक साहित्य भन्दा अहिले पूर्णरूपमा भिन्नै स्वरूप बोकेको छ डायस्पोरिक साहित्यले । नेपाली भाषाको प्रयोगमा आफूले बसोबास गर्दै आएको सामाजिक परिवेश , नेपाली भाषीको जीवन, लगायतका विविधता समेटेको साहित्यको सट्टा मात्री देशको राजनीति र बेथितिको बारेमा उग्र लेख लेख्नु नैँ डायस्पोरिक साहित्य बनेको छ । हुन त हिजोका लाहोर देखि अहिलेका लण्डनका प्रवासीले प्रायः गर्ने काम उस्तै हो प्राप्त गर्ने वेतन पनि उस्तै हो फरक के हो भने उताको हजारको डेढ लाख हुँदा लाहोरी गेटको वेतन हजार नै हुन्छ । परिवर्तनको यो मुद्रा भिन्नताको ब्यूहमा डलर साहित्य चम्किलो छ तर पसिनाले लथपथ आजादमण्डीको भरिया साहित्य शिथिल छ ।
ड्यालासको प्यालेसमा उब्जिने पार्टीगफले साहित्यको आकार लिएर भोटाहिटी कब्ज्याउँदा कदम कुँवाको सर्वहारा नियतिमा निथाचुर्ण आख्यानको पाण्डुलिपी लेखकको ढाडको तोक्माले चेप्पिएर जीर्ण बनेको हुन्छ । पहुँच ,प्रविधि अनि खजानाको चमक धमकले चम्किने डायस्पोरा साहित्यमा पटक्कै पनि तत्स्थानको यथार्थता आउन सक्दैन किनभने समृद्ध कलमले लेख्ने साहित्यले आफ्नो नेपथ्यलाई तबसम्म पर्दाभित्रै राख्छ जबसम्म त्यो यथार्थले उचित पुँजी आर्जन गर्ने ग्यारेन्टी गर्दैन । उता उस्तै परिश्रमबाट गुज्रेका बे भिसाका प्रवासी सिसाकलमका यथार्थ साहित्य कण्ड्यौलीको हाडलाई टेको दिँदा पसिनाले मेटिन्छ ।
सर्वहाराको भोगाइमा उब्जेका साहित्यलाई पुँजीवादी सोचले कसरी निचोर्छ भन्ने कुराको सत्यता हो यो चाहे स्वीकार गरियोस् या त नकारियोस् । जसरी डाक्टरको सीप खरिद गरेर बहुआयामिक र बृहत् सुबिधाले सम्पन्न अस्पताल निर्माण गर्छन् पुँजीपतिले सोही कार्यको अनुसरण साहित्यमा भएको पाइन्छ । एकजना व्यक्तिको गगन चुम्ने लहडमा जव भावनाका पिलन्धरे जमात आउँछ अनि मन र धन बर्साउछ उसका वक्र वाणीको जालमा जेलिएर , संस्थागत धारणा बेचेर आफ्नो आजीवन अध्यक्षताका खातिर आजीवन सदस्यताको हाट लगाउँछ चङ्खले । प्राप्तिको अल्प चाहनामा लक्पकाएका कलमहरूले भावनाको डुङ्गा बनाएर सुम्पिन्छन् अनि संस्थाको श्रीपेच सजाएर स्मृतिको गगन विहार गर्छ श्री श्री ले ।
लेखनीको बिरोधमा आफ्नो भक्त मण्डल तयार गरेर आक्रामक भिड तयार गर्नु बाहेक साहित्यको मैदानमा साहित्यिक योगदान न्यून रहने आजीवन अध्यक्षको एक झुम्रो खादा र एक चुट्की अबिरमा गणेशको पेट झैँ उप्सेका सर्जकमा आफू हुनुको आभास नामेट भएको हुन्छ त्यसैले त आफ्नो समुदाय अर्थात ग्याङको दुर्गन्धमा च्यादर ओढाउन तल्लीन रहन्छ बिचरो सर्वहारा कलम पनि । चाँदीको किस्तीमा मलमलको कपडाले ढाकिएको सुनको कलममा मसी नभएर पनि राज गरेको छ साहित्यको राज्यमा आफ्नो पूजा गराएर आफ्नै खेताला मजदुरबाट ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु