विश्व एक्वेटिक्स दिवसका अवसरमा भएको प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको पहिलो दिन शनिबार २ नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ । दिवाकर अवाले र अजलकाजी तण्डुकारले कीर्तिमान बनाए ।
सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा भएको प्रतियोगितामा दिवाकरले पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै शुभम् शर्माको कीर्तिमान भंग गरे । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा शुभम्ले २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान बनाएका थिए ।
नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगितामा अजलले पुरुष ५० मिटर बटरफ्लाइ २५.५२ सेकेन्डमा पूरा गर्दै अर्को कीर्तिमान स्थापित गरे । अजलले २६ औं राष्ट्रिय पौडी प्रतियोगितामा आफैले बनाएको २५.६७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् ।
जम्मा ६५ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ३१ स्पर्धा सम्पन्न भएको प्रतियोगिता संयोजक आयोजक संघका महासचिव ईश्वर कार्कीले जनाएका छन् । बाँकी स्पर्धा प्रतियोगिताको अन्तिम दिन आइतबार हुनेछ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । प्रतियोगितामा ३ सय ५१ खेलाडीको सहभागिता रहेको आयोजक संघका सचिव गंगालाल गोलले जनाएका छन् ।