काठमाडौँ, ३० असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बाढी पहिराका कारण सम्पर्कविहिन भएका चालक, सहचालक र यात्रुको तत्काल खोजी गर्न सरकारसँग माग गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले शुक्रबार साँझ विज्ञप्ती जारी गरी नारायणघाट–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बस बगाउँदा वेपत्ता भएका चालक, सहचालक र यात्रुको चाँडो खोजी गर्न र दुर्घटनामा घाइतेको उपचारको व्यवस्था मिलाउन माग गर्नुभएको हो ।
शुक्रबार बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए । उक्त दुर्घटनामा झ्यालबाट हामफालेर तीन जना बाँच्न सफल भएका थिए ।
यस्तै, भैरहवाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बसमा ढुङ्गा खस्दा चालकको घटनास्थलमै मृत्यु थियो । महासङ्घले सडक दुर्घटनाप्रति मृत्यु हुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै, पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था मिलाउन समेत सरकारसँग आग्रह गरेको छ ।
महासङ्घले अविरल वर्षाका कारण गएको बाढीपहिराबाट राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र ग्रामीण सडकमा क्षति पुगेकाले तत्काल मर्मत तथा वैकल्पिक व्यवस्था गरी सडक खुलाउनसमेत माग गरेको छ ।
“अविरल वर्षाका कारण बाढीपहिराबाट ठुलो जनधनको क्षति भएको छ, कयौँ राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडक बन्द भएका छन्, जसका कारण यात्रुहरू बिचल्लीमा परेका छन् । मर्मत तथा डाइभर्सन बनाएर सडक सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ”, महासचिव गौतमले भन्नुभयो ।
महासङ्घले देशभरका जुनसुकै स्थानबाट सेवा सञ्चालन गर्दा आफ्नो गन्तव्य स्थानसम्म पुग्ने बाटोको अवस्थाबारे पूर्णरुपमा जानकारी लिएर मात्र यात्रा गर्न र सवारी साधन सञ्चालनका लागि अपिल गरेको छ ।
बन्द भएका सडक खुलाउने कार्यमा सुरक्षाकर्मी परिचालन भइसकेकाले सुरक्षाकर्मीसँग सहकार्य गरेर यातायात सञ्चालन गर्नसमेत सबै व्यवसायीलाई महासङ्घले अनुरोध गरेको छ ।
महासंघले विभिन्न सञ्चार माध्यमबाट रात्री सेवा बन्दको हल्ला चलायको भन्दै उक्त हल्लाको पछाडि नलाग्न आग्रह गरेको छ । मौषमविद् र सडक विभागले भनेजस्तो रेडजेनलगायतको स्थानमा जादा सुरक्षा निकाय सँग समन्वय गरेर आफ्नोे सवारी सञ्चालन गन सबै व्यवसायीलाई महासंघले अनुरोध गरेको छ ।