काठमाडौं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
एमाले र कांग्रेसले एकै पटक दुई पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम समावेश गरेर मन्त्रिमण्डल गठनको तयारी गरेका छन्। एमालेले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय पाउने सहमति भएको छ। कांग्रेसले गृह र परराष्ट्र कांग्रेसले लिने, अर्थ र सञ्चार एमालेले लिने सहमति भएको छ। अन्य मन्त्रालयका विषयमा भने शीर्ष नेताहरू छलफलमै जुटिरहेका छन्।