भान्से लक्ष्मण प्रसाद भंडारी-
आज साउन १५ पुरै देश र नेपालीहरु खीरमय भएको छ ।
त्यसै पनि नेपाल बिभिन्न किसिमका जात जाति र आ-आफ्नै रितिरिवाज भएको देश हो । जहाँ सबै जातजाती, धर्म,संस्कृतीलाई समेटेर धेरै किसिमका पर्वहरु साझा रुपमा मनाइन्छ ।
नेपालमा प्राचिन कालदेखि नै खिरलाई एक उत्कृष्ट खानाको रुपमा लिइने गरिएको पाइन्छ । आर्युवेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ । श्रावण १५ गते खिर खाएमा शुभ हुने मान्यता रहेको छ ।
सरकारी तवरबाट भने मिति २०७७ फागुन १५ गते बसेको कार्यकारी समितिको १११ औं वैठकले श्रावण १५ लाई खीर खाने दिनको रुपमा (खीर दिवस) मनाउने निर्णय बाट सुरु भएको थियो ।
साउन महिनामा धेरै वर्षा हुने, विभिन्न किसिमका रोग लाग्ने र विरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउनको लागि पनि खिर खाने चलन रहेको पाईन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले खिर खाने चलन रहेको पाइन्छ ।
वर्षायाम मा विभिन्न संक्रमण भई रोग लाग्ने गर्दछ । त्यसैले रोग नलागोस् र संक्रमण नहोस् , थकान नलागोस् , फुर्ति बढोस् आदि भनेर पनि खिर खाने गरेको पाइन्छ । साउन गर्मी महिना भएको कारण पहिला – पहिला शरिरमा दाद, खटिरा, घाउ, लुतो जस्ता रोगले दुःख दिने गरेको पाइन्छ। यि यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन पनि साउन महिनामा दुध र दुधजन्य पदार्थको बढि नै सेवन हुने गरेको पाइन्छ ।
संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहार मध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्व पूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको छ।
साउन महिनामा गाउँघरमा पनि खेतीपातीको समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ। यस्ता रोग हरुको संक्रमण बाट बँच्न रोग प्रतिरोधात्मक क्षमताको आवस्यकता पर्दछ साथै खीरमा रोग प्रतिरोधात्मक क्षमता बडी हुने भएकोले बर्षात महिना दूध तथा दूधबाट बनेका पाेषिला परिकारहरू, खासगरी खीर खाने चलन रहेको हुनु पर्दछ । जसलाई पायस ,खिर, ढकनी ,फिर्नी भनि पुकारिन्छ ।
यसरी बनाउनुस् घरमै स्वादिष्ट नेपाली खीर
१०-११ जानको लागि खीर पकाउन चाहिने सामग्रीहरु:
– १ किलो टाचन चामललाई आधा घण्टासम्म भिजाउने र पानी तारी सुख्खा बनाउने
– घिउ ३०० ग्राम
– दुध ६ लिटर
– चिनी ४०० ग्राम
– अलैंचीको धूलो ।
पकाउने विधि
कसौडीमा घिउ तताउने,तताइएको घिउमा भिजाएको चामल हालेर सानो आँचमा खैरो हुने गरी भुट्ने चामल खैरो भएपछि दूध हालेर सानो आँचमा पकाउने । चामल राम्रोसँग पाकेपछि त्यसमा रहेको दूध सुक्न दिने र चिनी अलैँची को धूलो हालेर राम्रोसँग चलाउने । अब यो परिकार खानका लागि तयार भयो । घिरौँलाको तरकारी, काँक्राको अचार, गाडेको तामाको अचार, भुटेको आलुसँग खीर आनन्द लिई खाऔँ ।
खिरमा सकभर ड्राईफ्रुट नहालौ ।तपाईं जायफल सुकमेल पनि प्रयोग गर्न सक्नुहुन्छ।
खीर बनाउँदा चिनी, मसला र ड्राइ फ्रुट पाकी सकेपछि मात्र राख्नुहोस् । नत्र फाट्न सक्ने सम्भावना हुन्छ । बिभिन्न स्वाद मा खान मन लागे आँपको लेदो राखेर आँपको स्वादमा पनि खान सक्नु हुन्छ । चकलेट पाउडर राखेर चकलेटको स्वादमा पनि लिन सक्नु हुन्छ । अन्य फलफूलको पल्प बनाई खिर सेलाई सकेपछि मिश्रण गरी अलग अलग स्वादमा लिन सकिन्छ ।
चामल को सट्टामा कागुनो , चिनो मकैको च्याँख्ला हरियो मुङ्ग पनि प्रयोग गर्न सक्नु हुन्छ । हजुर भेगान हुनुहुन्छ भने नारिवल को दुध र भेजिटेवल घ्यू प्रयोग गर्न सक्नु हुन्छ।