नवीन शर्मा
राजनीतिलाई सम्पूर्ण नीतिहरूको मूल नीति भनिन्छ । आजको दुनियाँमा समाजका आआफ्नै भौगोलिक, आर्थिक, सांस्कृतिक, सामाजिक, कूटनीतिक र मनोवैज्ञानिक विशेषता विद्यमान हुन्छन् । यीनै विशेषतालाई समय सापेक्ष, प्रगतिशील गति प्रदान गर्न महत्त्वपूर्ण भमिका भएको निर्देशक सिद्धान्तलाई नीति मान्न सकिन्छ ।
यही सिद्धान्तका आधारमा समाज र देशलाई हाँक्ने नीति नै राजनीति हो ।युवाहरु बिना मुलुकको विकास र समृद्धि हुन सक्दैन ।पुरानो पुस्ताले अब देशको विकास गर्न सक्दैन ।राजनीति भनेको समाजसेवा हो । राजनीतिको नाममा व्यापार भइरहेको छ । यसमा सुधारको खाँचो छ ।देशको विकास र जनताको हितका निम्ति नेताहरु इमान्दारका साथ लाग्नु पर्छ । नेपालको राजनीतिमा गुण्डागर्दी, अपराधिकरण, भ्रष्ट्राचार बड्दै गएकाले राजनीतिप्रति धेरै युवाहरूको बितृष्णा रहेको छ । युवालाई युवा संगठनको नाममा राजनैतिक दुरुपयोग गरेर युवाको जीन्दगी बर्बाद गर्नाले युवा राजनीतिमा आउन चाहँदैनन् । युवाले भन्छन् – राजनीति फोहोरी खेल हो । जबसम्म फोहोर पोखरीमा डुबेर पोखरी सफा गर्न थालिदैन पोखरी झन दुर्गन्धित हुँदै जान्छ । त्यसैले फोहोरी राजनीतिलाई सुगन्धित पार्न राजनीतिको बागडोर सम्हाल्ने जिम्मा युवा बर्गलाई दिईनुपर्छ ।
अहिलेको राजनीति सेवाभन्दा आर्जनको पेसा बन्दै आएको छ ।राजनीतिलाई आर्जनको पेसा होइन, सेवा ठानेर इमान्दारिताका साथ लाग्नु पर्छ ।अब युवाहरुले यो विषयमा गम्भिरताका साथ सोच्नु पर्छ ।युवाको अगुवाइमा देश बनाउने अभियान चलाउनु पर्छ ,यसका निम्ति युवा नेताहरु जनताको मन जित्ने किसिमले अघि बढ्नु पर्छ ।अहिलेका युवा नेताहरु परम्परागत ढंगले अघि बढन खोजे सफलता मिल्ने छैन ।युवाले चाहे नहुने केही छैन ,अहिलेका कर्मशील लाखौं युवा मुलुकमा रोजगार नपाएर विदेश पलायन छन् ,युवालाई मुलुकमै रोजगार दिने बातावरण राज्यले मिलाउनु पर्छ ।देशको विकास र समृद्धि गर्ने भनेको युवाहरुले हो ,युवाहरुलाई विदेश पठाएर मुलुकको विकास र समृद्धि हुँदैन ,कृषिप्रधान देश मानिँदै आएको हाम्रो मुलुक अहिले खाद्यान्नकै निम्ति परनिर्भर बन्नुपरेको छ ,भएका उद्योग कलकारखाना व्यवस्थित नगरिँदा बन्द हुँदै आएका छन् ।नयाँ उद्योग कलकारखाना खोल्ने सोच कसैमा छैन ,निर्धारित समयमा पूरा गर्नुपर्ने निर्माण कार्यवर्षौंसम्म अलपत्र छन् । मनपरी बजेटको दोहन गरिरहेका छन् ।युवा जनशक्ति बेरोजगार बनिरहेको छ । रोजगारी प्रदान गर्न नेताले ध्यान दिएका छैनन् ।मुलुकको भाग्य र भविष्य निर्माण गर्न युवाअघि सर्नु पर्छ ।अब युवा नेताहरुले मुलुकको भविष्यप्रति ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
अब देश बनाउने हो भने गलत प्रवृत्तिमा सुधार ल्याउनु पर्छ ।दलिय संरचना युवामैत्री बनाई क्षमता नभएका, योग्यता नभएका ब्यक्तिलाई सत्ताबाट बहिष्कार गरि परम्परागत राजनीति खारेज गर्नुपर्छ । अब आउने पुस्तालाई हतोत्साहित होईन राजनीति गर्न अभिप्रेरित गर्नुपर्छ । ५० वर्ष माथिका राजनीतिज्ञलाई राजनीतिबाट बिदाइ गराई राजनीतिक शिक्षक बनाएर परिचालन गरौ । आफू जलेर अरुलाई प्रकाश छर्ने दियो युवा वर्गलाई राजनीतिमा शतप्रतिशत सहभागी गराएर मात्र सुखी र समृद्ध मुलुक नेपालको परिकल्पना गरौं ।