सम्झनामा मेरो बा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १७ गते, सोमबार ०६:३६

देबु पराजुली

मेरो सम्झनामा त्यस्तो एक दिन छैन होला जुन दिन मैले मेरो बाआमालाई सम्झेको छैन। प्रत्येक दिन बाबाआमाको सम्झना उत्तिकै गरी आइरहन्छ कुनै दिन समय विशेष काम विशेष र आफूले सेयर गर्नुपर्ने थुप्रै कुराहरु मनमनै गुन्नुपर्दा अझ बढी याद आएको हुन्छ। अनि आज बाबुको मुख हेर्ने दिन भनेर सम्झनु विशेष लाग्दैन ।
बुवाआमासँगका सम्झना सबैका लागि प्रिय हुन्छन्। अझ मजस्ता छोराछोरीहरूको लागि अरु धेरै प्रिय हुन्छन्। सम्झनामा शक्ति बन्ने बाबुआमाको याद मात्र हो। एक्लै हुँदा साथ दिने, थकाई लाग्दा शक्ति दिने र मौन बस्दा बोल्न बाध्य पार्ने बुवाआमाको सम्झना हो।
मसँग मेरो बुवाका धेरै सम्झनाहरू छन्। मेरो बाल्यकालमा मेरो प्रेरणाको ऊर्जा बन्न बा मेरो डर हुनुहुन्थ्यो, बा मेरो साहस हुनुहुन्थ्यो, बा मेरो साथी हुनुहुन्थ्यो र बा मेरो गुरु हुनुहुन्थ्यो। मलाई पढ्न सामाजिक बन्न र आत्मनिर्भर बन्न बाले धेरै प्रयास गरेर सिकाउनुहुन्थ्यो।

कहिले हदोत्साहित हुन दिनुभएन, रिसाउन दिनुभएन, रुन दिनुभएन, सधैं आँटले भर्नुहुन्थ्यो ।तल कहिल्यै नपर्नु भन्नुहुन्थ्यो। कसले के भन्छ भन्ने होइन आफूले आफूलाई के भन्छु भनेर सोच्न बाध्य पार्नुहुन्थ्यो,नमिठो वचन कसैसँग बोल्यो भने घरमा आएर सम्झाउनु हुन्थ्यो मैले नमिठो बोल्दा नराम्रो बोल्दा म आफै कस्तो देखिन्छु भनेर सोच्न बाध्य पार्नुहुन्थ्यो।

बाको काधमा चढेर म ठुली हुँदासम्म पनि विद्यालय जान्थेँ। मैले चार कक्षा पढेपछि मात्रै आफै हिँडेर विद्यालय गएकी हुँ। त्यो समयसम्म म कहिले आमाको पिठ्युमा कहिले बाको काँधमा बसेर विद्यालय जान्थे। बिहान १० बजे विद्यालय पुर्‍याएर ४ बजे लिन जाने दैनिक काम थियो बाआमाको। मैले एसएलसी पास गरेपछि छिमेकीहरूलाई देखाउँदै मेरा बाले भन्नुहुन्थ्यो छोरी पढाउनुको कारण छोरीलाई आत्मनिर्भर बनाउनु हो। म मेरो गाउँमा एसएलसी पास गर्ने पहिलो छोरी थिए। मेरा बाका खुसी त्यतिबेला म कल्पना पनि गर्न सक्दिन।
मैले गरेको राजनीतिमा मेरो बुवालाई कहिल्यै गुनासो भएन तर त सफल हुन्छस् त ? तैले लिएको मुद्दा राम्रो हो त ?बाको सधैं यही प्रश्न हुन्थ्यो। स्वनिर्णय गर्न मलाई बाले हौसला दिनुहुन्थ्यो। बाको मसँग गुनासो धेरै रह्यो होला। तर मेरो कहिले बासँग गुनासो रहेन।

पछिल्लो समय म काठमाडौँमा बस्थे। बाले मलाई आत्मनिर्भर हुन सधैँ हौसला दिनुहुन्थ्यो। आफ्नो निर्णयमा आफू रमाउन र अरुलाई दुःख नदिन प्रेरित गर्नुहुन्थ्यो। राज्यप्रति बाको ठूलो सम्मान थियो। देशभित्रै जनशक्ति बसोस्। युवाहरु देश छोडेर नजाउन भन्ने ठूलो आशा गर्नुहुन्थ्यो। मेरो भाइले विदेश जान पासपोर्ट बनाएको बेला बाले उसलाई विदेश नजानको लागि र यही केही गर्नको लागि प्रेरणा दिनुभएको थियो। आज उ राष्ट्रसेवामा यहि छ।

एउटा स्मरण छ। जुन मैले कहिल्यै बिर्सन सक्दिन। म सडक दुर्घटनामा परे एउटा ट्याक्सीले मलाई हान्यो र मेरो खुट्टामा चोट लाग्यो। म केही दिन अफिस जान सकिन ट्याक्सीको कागजात प्रहरीले समातेको थियो मैले बुवालाई सुनाए बुवाले त्यो ट्याक्सी ड्राइभर कति वर्षको थियो भनेर सोध्नुभयो ट्याक्सीको मालिक कति वर्षको छ भनेर सोध्नुभयो मैले ड्राइभरको २३ वर्ष र मालिकको २८ वर्ष भने। भोलिपल्ट बुवाले तेरो खुट्टा कस्तो छ भनी नसोधी ट्याक्सी ड्राईवरलाई छोडि दे भन्नुभयो, उनीहरूसँग तैले उपचार गर्ने पैसा नमाग उसले हान्छु भनेर हानेको होइन। कम्तिमा ती युवाहरू देशभित्रै छन्। हाम्रो गाउँमा अहिले केटाहरू कोही पनि छैनन् यसैले देशभित्रै व्यवसाय गर्नेहरूलाई दुःख नदे भन्नुभयो ।म बुवाको कुरा मानेर तुरुन्तै प्रहरी कार्यालयमा गएर ड्राइभर र ट्याक्सी साहुलाई बोलाएर कागजपत्र फिर्ता गरे। आज पनि मलाई बुवाको त्यो कुरा एयरपोर्ट नजिकै जाँदा असाध्यै याद आउँछ।

यतिबेला बुवा हामीसँग हुनुहुन्न तर बुवासँगका सम्झना हरू मेरा शक्ति बनेर रहेका छन्। मेरो एकान्तको संवाद बुवा आमासँग हुन्छ। मेरा झर्न नसकेका आँसुहरु खुल्न नसकेका खुसीहरु प्रकट हुन नसकेका विचारहरु पूरा हुन नसकेका सपनाहरू सबै सबै बुवाआमासँग समिश्रण भएका हुन्छन् ।म एकान्तमा भीड महसुस गर्छु र भिडमा एक्लो महसुस गर्छु। जहाँ शान्ति अभिभावकको सामिप्यताले बनाइदिन्छ।
सम्झनाका थुप्रै पलहरू बाआमासँगै हुँदा रहेछन्। जब बाआमाको सामिप्यता टाढिँदै जान्छ तब तब यादहरु अझ गाढा भएर आउँछन्। आवश्यकताहरू अझ बढी भएर आउँछन् घरि घरि लाग्छ मेरै वरिपरि बसेर मैलाई प्रेरणा दिइरहेका छन्।

आज औँसी भएर होइन प्रत्येक आज बा भएर म सम्झन्छु। प्रत्येक आज बा भएर म छु महसुस हुन्छ। मेरो जिन्दगीको पछिल्लो पटक बाको देनले मलाई स्वाभिमान बनाएको छ। मलाई म बन्न जन्म मात्र होइन सन्तानको हुर्काई मात्र पनि होइन एउटा अलौकिक प्रेरणा र प्रेम मेरा बाले मलाई बक्सिस दिनुभएको छ। म ठूलो सपना त देख्दिन। तर कुनै पनि समय मेरा बाले मप्रति गरेको लगानी खेरा फाल्ने छैन। कसैले फलानाको छोरी भन्दा मेरा बाआमाको स्वर्गमै शिर ठाडो बनाउन कोसिस गर्नेछु। समर्पण सम्पूर्ण पित्रीहरुमा।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु