काठमाडौँ, ३० भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीबीच शिष्टाचार भेट भएको छ ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा आज भएको भेटमा नेपाल र बङ्गलादेशबीचका उर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री खड्काले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र बङ्गलादेशमा बढ्दो उर्जा आवश्यकता रहकोले दुई देशबीचको उर्जा सहकार्यलाई अझ गहिरो बनाउन भेटले सहयोग पुगेको बताउनुभयो ।
उहाँले आगामी दिनमा हुन लागेको दुई देशका सचिव तथा सहसचिवस्तरीय बैठकमा ठूला जलविद्युत आयोजना निर्माणमा सहकार्य, अन्तरदेशीय प्रसारण लाईनमा भारतीय पक्षको सहमति र विद्युत व्यापारको सुरुवातलगायत विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा निर्णय हुने भएकाले उक्त वैठक फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
उर्जामन्त्री खड्काले चाँडै नै नेपाल विद्युत प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत व्यापार निगमबीच ऐतिहासिक त्रिपक्षीय विद्युत व्यापार सम्झौतामा हस्ताक्षर गरी नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बङ्गलादेशमा विद्युत निर्यातले दुई देशबीच विद्युत व्यापारको ढोका खोल्ने बताउनुभयो ।
मन्त्री खड्काले ६८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेकोमा राजदूतावासबाट आवश्यक पहल हुने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा राजदूत चौधरीले बङ्गलादेशले चाँडै नै ४० मेगावाट विद्युत खरीद सम्झौता गरेर नेपाल र बंगलादेशबीचको उर्जा सहकार्यलाई अगाडि बढाउन खोजेकोे बताउनुभयो । उहाँले विद्युत उत्पादन, व्यापार र प्रसारण लाईनको विकासमा बंगलादेशले नेपाललाई सहयोग गर्ने उल्लेख गर्नुभयो ।
राजदूत चौधरीले बंगलादेशले सिंचाईको नवीनतम माध्यामबाट कृषि क्षेत्रमा थोरै जमिनबाट धेरै उत्पादन गरिरहेको भन्दै उक्त प्रविधिलाई नेपालमा भित्र्याउनका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
भेटमा उर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारीलगायतको उपस्थिती रहेको थियो ।